जलवायु परिवर्तनको असर : सेताम्ये देखिने हिमालमा कालापत्थर देखियो, पुसमै फुल्यो लालीगुराँस

डिसी नेपाल
२३ पुष २०८० ०:०४
236
Shares

जाजरकोट। बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो।

यसअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए। उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिए।

लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिँगा, राङ्सी, मछाइना, कुशेका पाँचकाटीया, समाइला, नलगाडको लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायत गाउँमा प्रशस्तमात्रामा लालीगुराँस फुल्ने गरेका छन्। पहिला यस्तो हुदैन्थ्यो, अहिले हिउँ पर्न पनि छोड्यो लालीगुराँस पनि पुसमै फुल्न थालेको छ। बाह्रै महिना सेताम्यै हुने यहाँका हिमालमा पनि हिउँ देखिन छोडेको छ ।

सबै लालीगुराँस नफुले पनि फाट्टफुट्टरुपमा लालीगुराँस फुलेको देख्न सकिने भेरी नगरपालिका–४ का ७७ वर्षीय खम्बजङ्ग शाहले बताए।

जाजरकोटका कुशेपाटन, कराँचुली, जलजला, बारेपाटनलगायत हिमालमा अहिले हिउँ देखिन छोडेको उनको भनाइ थियो।

“अहिले हिउँ परेकाबेला मात्र हिमाल सेता देखिन्छ अरुबेला कालापत्थर देखिन थालेका छन्”, शाहले भने, “यसैकारण हिउँ चितुवा, कस्तुरी, डाँफे, मुनाललगायतका जङ्गली पशुपक्षी लोप हुन थालेका छन् । चिसो र गर्मी अत्यधिक बढ्न थालेको छ।”

हिउँ नपर्दा फलफूलका बोटबिरुवा, गहुँ, जौलगायत हिउँदेबालीमा समेत असर पर्ने र उत्पादनमा ह्रास आउने स्थानीयवासीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *