तीन जना पृथ्वीनारायण

खगेन्द्रराज सिटौला
२७ पुष २०८० ७:४३
180
Shares

एकजना पृथ्वीनारायणमा तीनजना पृथ्वीनारायण खोजी गर्नु निकै कठिन काम हो। अर्थात् एउटै नाम एउटै शरीर एउटै राजा पृथ्वीनारयणमा समान उचाइका तीनजना पृथ्वीनारायण उभ्याउनु र पुष्टि गर्न केशिस गर्नु आफैंमा कठिन चुनौती हो।आउनुहोस् तीनजना पृथ्वीनारायण फेला पार्न हामी एकजना पृथ्वीनारायण शाहमा प्रवेश गरौं।

हामी एकजना पृथ्वीनारायणमा तीनजना पृथ्वीनारयणको खोजी गर्न गइरहेका छौं। यो खोजी भनेको नै पृथ्वीनारायण शाहको जीवनी र कार्य केलाएर एकजना पृथ्वीनारायणमा तीनजना पृथ्वीनारायण फेला पार्नु हो। सवाल उठ्छ कसरी फेला पार्ने हो त एकजना पृथ्वीनारायणमा तीनजना पृथ्वीनारायण।

एक पृथ्वीनारायण नाम तीन महत्वपूर्ण काम यसैमा तीन पृथ्वीनारायण फेलापार्न जाम। अलग महत्वका तीन काममा नै एक पृथ्वीनारायण नाममा तीन पृथ्वीनारायण फेला पार्नु हो।

हामी एकजना पृथ्वीनारायणलाई नेपाल एकीकरणमा फेला पार्छौं। अर्कोजना पृथ्वीनारायणलाई हामी उपनिवेशवाद/साम्राज्यवाद विरोधि युद्ध मोर्चाका योद्धा पृथ्वीनारायणलाई भेट्छौं। अर्को तेस्रो पृथ्वीनारायणलाई हामी विचारको क्षेत्रमा उभिएको पृथ्वीनारायणको रुपमा भेट्छौं।

अर्थात् नेपाल एकीकरण गर्ने पृथ्वीनारायण,साम्राज्यवाद विरोधि मोर्चाका पृथ्वीनारायण र विचारका पृथ्वीनारायण नै एकजना पृथ्वीनारायणमा तीनजना पृथ्वीनारायण हुन्।

नेपाल एकीकरणको नेतृत्व गोरखाका राजा पृथ्वीनारायणले नै किन गर्नपर्‍यो? किन अरु राज्यले नेपाल एकीकरणको ऐतिहासिक आवश्यकताको महत्व ठम्याएर पृथ्वीनारायण जस्तै वा पृथ्वीनारायण भन्दा पहिला अग्रसर भएनन्?

पृथ्वीनारायणको राज्य गोरखा भन्दा सम्पन, ठूला, पुराना र बलिया राज्यका कुनै पनि राज्यका राजाहरुले नेपाल एकीकरण गर्ने आँट किन गरेनन् र पृथ्वीनारायणले नै किन गरे? किनभने उनीहरु राजा मात्रै भएर मर्न चाहन्थे भने पृथ्वीनारायण राष्ट्रनिर्माता भएर बाँच्न चाहन्थे।

अरु राज्यका को राजा थिए कहिले जन्मे कहिले मरे कसैको नाम निसान छैन। तर पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता भएर नेपालसँगै बाँचिरहेका छन्। यसरी नेपाल एकीकरणमा राष्ट्रनिर्माताको सम्मान प्राप्त पहिलो एकजना पृथ्वीनारायण शाहलाई भेटियो।

दोस्रा पृथ्वीनारायण उपनिवेशवादी÷साम्राज्यवादी विरोधि पृथ्वीनारायण हुन्। उनी साम्राज्यवादी उपनिवेशवादी विरोधी आदि नेपाली नेताको रुपमा खडा भएका पृथ्वीनारायण हुन्। उनको पालाको नेपाली समाजमा साम्राज्यवादी उपनिवेशवादी शब्द जन्मिएको थिएन।

जन्मेको भए उनले पनि त्यही शब्द प्रयोग गर्थे होला। उनको पालामा पश्चिमा साम्राज्यवादी उपनिवेशवादी शक्तिलाई चिनाउने शब्द फिरंगी थियो। पृथ्वीनारायण फिरंगीलाई घृणा गर्दथे। उनी फिरंगीधार विरोधी नेता थिए। उनले फिरङ्गीको चरित्र र प्रवृत्ति चित्रण गर्दै भनेका थिए फिरंगी भनेको ब्वाँसो हो। ब्वाँसोलाई छेउछाउ पर्न दिनु हुँदैन लखेट्नैपर्छ भन्ने उनको मान्यता थियो।

छेवैका छिमेकी जो अहिले भारत भनिन्छ जो भित्र अनेक नामका राजाहरुले शासन गरेका राज्यहरु थिए। प्रारम्भमा ब्वाँसोले जस्तै फिरंगीले सुमसुम्याउँदा सन्च मानेर बसे र धेरै ढिलो थाहापाए उनीहरु त ब्वाँसोको गुलाम भइसकेको पो रहेछन्।अर्थात् फिरंगीसँग कुनै राजा झुके कुनै राजा बिके र आफ्नो स्वाधिनता र स्वतन्त्रता गुमाए।

नेपालमा पनि फिरंगीलाई साथमा राखेमा आफू बलियो र सुरक्षित भइन्छ भन्ने भ्रममा परेर काठमाडौंका राजा जयप्रकाश मल्लले अंग्रज शक्तिलाई झिकाएका थिए। तर पृथ्वीनारायणको अलग मुल्यांकन थियो।

उनको मुल्यांकन थियो फिरंगी भनेको ब्वाँसो हो यो नेपालमा पसो भने जयप्रकाशलाई पनि बाँकी राख्दैन पृथ्वीनारायणलाई पनि बाँकी राख्दैन। अर्थात् नेपाललाई पनि बाँकी राख्दैन गोरखालाई पनि बाँकी राख्दैन।

यो भेकको सभ्यता संस्कृति स्वतन्त्रता केही पनि बाँकी राख्दैन। तसर्थ फिरंगीलाई जसरी पनि रोक्नुपर्छ भन्ने दृढ संकल्प बोकेर पृथ्वीनारायण शाहले जयप्रकाश मल्लले झिकाएका अंग्रेज फौजमाथि आक्रमण गरेर सिन्धुलीबाटै लखेटे।

सिन्धुलीमा पृथ्वीनारायण शाहले दिएका निर्देशन बमोजिम अंग्रेज फौजमाथिको गोरखाली फौजको आक्रमण नेपालको पश्चिमा साम्रज्यवादी फौज माथिको पहिलो ऐतिहासिक आक्रमण र विजय थियो।

यही आक्रमण र विजयले पृथ्वीनारायण शाहलाई गोरखाली वा नेपाली मात्र होइन साम्राज्यवाद बिरोधी एशियाली योद्धा विजेता र नेताको रुपमा खडा गरेको छ। पृथ्वीनारायण शाहको साम्राज्यवाद/उपनिवेशवाद बिरोधी पाटो यतिमा मात्रै सीमित छैन।

पृथ्वीनारायण शाहले मल्ल राजाहरुले अनेक सुविधा र सहुलियत दिएर राखेका पादरीहरुलाई निस्कासन गरेर उनले पश्चिमा साम्रज्यवादको आध्यात्मिक साम्राज्यवादी फौजमाथि पनि धावा बोलेर पूर्वीय आध्यात्मिक फौजको झण्डा पनि फहराएका थिए।

पृथ्वीनारायण शाहमा साम्राज्यवाद विरोधि चेत यति जब्बरसँग उठेको थियो कि उनले साम्राज्यवादीको पञ्जाबाट नेपाल मात्र होइन कि उत्तर छिमेक तिब्बत चीन पनि जोगाउनु पर्छ भन्ने मान्यता उनमा दृढ भएर उठेको थियो।

उनले तिब्बतका दलाई लामालाई सचेत गराउँदै पत्र लेखेको थिए कुनै हालतमा पनि व्यापारको नाममा फिरंगीलाई तिब्बतमा प्रवेश गर्न नदेउ। यदि फिरंगी तिम्रो देशमा पस्न पायो भने तिम्रो धर्म सभ्यता सबै सक्छ। यी दृष्टान्तले पुष्टि गर्दछ कि नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायणमा अर्का साम्राज्यवाद बिरोधी एसियाली योद्धा विजेता नेताको पहिचान बनाएका पृथ्वीनारायण भेटिन्छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण,साम्राज्यवाद बिरोधी पृथ्वीनारायण पछि भेटिने पृथ्वीनारायण विचारका पृथ्वीनारायण हुन्। अर्थात् अर्का तेस्रा पृथ्वीनारायण शाह विचारमा भेटिन्छन्। आफ्ना जीवनकालका अनुभवको सार खिचेर पृथ्वीनारायण शाहले आफ्ना भाइ-भारदारहरुलाई जीवनको अन्तिमकालमा केही अर्ती उपदेश दिएका थिए।

जसलाई योगी नरहरि नाथको पहलमा बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवालीसमेतको योगदानमा दिव्यो पदेशको नाममा पृथ्वीनारायणका निर्देशन नीति विचार संकलित भएर प्रकाशित भएको थियो। पृथ्वीनारायणको यही कालजयी निर्देशन नीति विचारमा पृथ्वीविचारको नाममा अर्का तेस्रा पृथ्वीनारायण शाह भेटिन्छन्।

दिव्योपदेश पृथ्वीनीति हो। पृथ्वीनीति नेपालनीति हो। अर्थात् पृथ्वीविचार नेपाल जोगाउने र जगाउने नेपालको मूल राष्ट्रिय चिन्तनधार हो। यही राष्ट्रिय चिन्तनधारमा विचारका पृथ्वीनारायण शाह भेटिन्छन्।

सारमा नेपाल एकीकरणमा राष्ट्रनिर्माताको रुपमा,सिन्धुलीको अंग्रेज बिरोधि लडाइ र पादरी निस्कासनमा साम्राज्यवाद विरोधी योद्धाको रुपमा र दिव्योपदेशमा विचारको रुपमा पृथ्वीनारायण शाह भेटिन्छन्।

रुपमा एक सारमा अनेक भनेको ठोश दृष्टान्त पृथ्वीनारायणमा मेल खान्छ। यसरी हामी एक रुपमा तीन पृथ्वीनारायण शाहलाई देख्छौं भेट्छौं । अर्थात एक पृथ्वीनारायण तीन पृथ्वीनारायणको त्रिवेणी।

यी तीन काम फत्ते गर्न कतै पृथ्वीनारायण राजाको पहिरनमा भेटिन्छन् त कतै किसानको पहिरनमा भेटिन्छन् भने कतै युद्ध मोर्चामा सिपाहीको पहिरनमा। अनेक रुप र अनेक कार्यले यी माथि भनिएका तीन काम फत्ते गर्ने पृथ्वीनारायणको एक सार बोली भनेको मेरा साना दुखले अर्ज्याकाे मुलुक होइन सबै जाताको फूलबारी हो। यही सारमा तीन पृथ्वीनारायण एक पृथ्वीनारायणमा भेटिन्छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *