‘सात लाखको डबल बनाइदिन्छु’ भन्दै नारायणथानबाट लामाले चम्पट कसेपछि …
काठमाडौं। घटना गत पुस १६ गतेको हो। काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित नारायणथान सडक खण्डमा एक युवा डुलिरहेका थिए। उनी सल्यान छत्रेश्वरी गाउँपालिका घर भई दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वली थिए।
प्रहरीका अनुसार काम विशेषले काठमाडौं आएका वलीलाई सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-५ घर भई काठमाडौं-१५ स्वयम्भू बस्ने २६ वर्षीय कुमार लामाले भेटे। सडकमा घुमिरहेका बेला वलीलाई नै लामाले ‘मुर्गा’ बनाउने योजना बनाए।
लामाले वलीलाई बोलाए र नक्कली पैसाको भिडिओ देखाइदिए। तुरुन्तै सात लाख रुपैयाँ दिए १० मिनेटमा दोब्बर बनाएर ल्याउँछु भने। जसै वली लोभिइहाले।
‘१० मिनेट कुर म यसको दोब्बर बनाएर ल्याउँछु भनेका लामा फर्केनन्,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले भने, ‘त्यसपछि वली प्रहरीकहाँ आए।’
वलीको जाहेरीपछि प्रहरी लामाको खोजीमा लागिरहेको थियो। यसक्रममा परिसरको टोलीले लामालाई बुधबार स्वयम्भूबाट पक्राउ गरेको ढुंगेलले बताए। लामाको साथबाट ६० हजार रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ। उनलाई हिरासतमा राखेर ठगीको अन्य घटनाबारे अनुसन्धान थालिएको ढुंगेलले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment