‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…

डिसी नेपाल
२८ पुष २०८० ७:१८
412
Shares

काठमाडौं। काभ्रेपलाञ्चोक मण्डनदेउपुर–११ की सुन्तली तामाङ (परिवर्तित नाम) करिब पाँच महिनाअघि कम्पनी कामका लागि भनेर कुवेत पुगिन् । नेपालमा रहेका बिनोद पौडेल नाम गरेका व्यक्तिले मेडिकल रिपोर्टदेखि श्रम, पुलिस रिपोर्टलगायत सबै डकुमेन्ट नक्कली बनाएर गत ८ अगस्टमा त्रिभुवन विमानस्थलबाट ओमान हुँदै कुवेत पठाएका थिए ।

विमानस्थलमा एउटा कागज र कुवेत पुगेपछि अर्को कागज देखाउन भन्दै ६० दिनको ओमानको भिजिट भिसा देखाउन लगाएर आफूलाई कुवेत पठाएको जुनीमायाले बताइन् । आफूलाई नक्कली सम्झौतापत्रमा कम्पनीको नाम अब्दुल हमीद सालेम सोन्स र कामको पोस्ट ‘क्लिनर’ भनेर पठाएको भए पनि यहाँ आइपुग्दा त्यो कम्पनी नभएर घरेलु कामदारका रूपमा काम गर्न बाध्य पारेको उनले बताइन् ।

‘आफू गाउँबाट आएकाले सोझो मान्छेको फाइदा उठाउँदै दलाल पौडेलले नक्कली डकुमेन्ट बनाएर राम्रो कम्पनी भनेर पठाएको र अहिले कम्पनी नभई कुवेती नागरिकको घरमा १७–१८ घण्टा काम गर्नुपरेको छ,’ जुनिमायाले राजधानीसँग भनिन्, ‘काम गरेको तलब पनि समयमा दिँदैनन् भने मालिकनीले कुट्ने–पिट्ने गरेका कारण हरेक दिन शारीरिक तथा मानसिक यातना दिने गरेको छन्, यहाँबाट मलाई चाँडो उद्धार गर्नुहोस् ।’

समयमा खान नदिने, साहुका छोराले पनि विभिन्नखालको यातना दिने गरेको र कुवेतमा रहेकी एजेन्ट मञ्जरी तामाङलाई आफूले काम गर्न नसक्ने घर पठाइदिनु भन्दा ३ लाख नेपाली रुपैयाँ दिए मात्र पठाउने भन्ने गरेको जुनिमायाले बताइन् ।

आफू अन्जानमा यहाँ आएर फसेकाले अब विदेश आउँदा बुझेर मात्र आउन पनि जुनिमायाले सबैलाई अनुरोध गरेकी छन् । घरमलिकको यातना सहन नसकेर कुवेतमा रहेका समाजसेवी घनश्याम थापामगरको सम्पर्कमा पुगेकी उनले आफूलाई उद्धार गरी नेपाली फर्काइदिन अनुरोध गरेकी छन् ।

‘त्यो बहिनीको राहदानी (पासपोर्ट)बाहेक सबै डकुमेन्ट नक्कली रहेछ,’ समाजसेवी थापामगरले भने, ‘मैले अनलाइनमा चेक गर्दा केही देखाएन, नेपालको अध्यागमनका कर्मचारीहरूको सेटिङमा पठाएको रहेछ, बहिनीको उद्धारका लागि सहयोग गर्न यहाँस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतमलाई पनि भनेको छु ।’

नेपालबाट उनलाई पठाउने दलाल भनिएका बिनोद पौडेललाई सम्पर्क गर्दा आफू सामान्य कृषि व्यवसायी रहेकाले ती चेलीलाई नचिन्ने बताए । फेरि सम्पर्क गर्दा बिनोदले नम्बर ब्लक गरेकाले उनी नै ती चेलीलाई कुवेत पु¥याएर बेच्ने मुख्य दलाल रहेको पुष्टी भएको समाजसेवी थापामगरले बताए ।

तर, समाजसेवी थापामगरले कुवेतको नम्बरबाट ह्वाट्सएपमा सम्पर्क गर्दा दिउँसो २ देखि ३ बजेभित्रमा मात्र बोल्न मिल्ने बिनोदले जवाफ दिएका थिए । पछिल्लो समय नेपाली चेली विमान नचढ्दै नेपालमै ‘बिक्री’ हुने गरेका छन् । कुवेतलगायत खाडी मुलुक जाने अधिकांश नेपाली चेलीलाई मानव तस्कर हरूले सम्बन्धित मुलुकमा जाने ठाउँका घर मालिकसँग मोटो रकम लिएर बिक्री गर्ने गरेको र पछि समस्यामा परेपछि हारगुहार गर्नेको संख्या बढ्दो छ ।

बाग्लुङकी चेली कुवेतमा बन्धक

वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी बाग्लुङकी एक चेली आफैंले काम गर्ने घरमालिकको बन्धक बनेकी छन् । घरमालिकले विभिन्न यातना दिएर पाँच दिनदेखि कोठामै बन्धक बनाएर राखेको खुल्न आएको कुवेतमा रहेका समाजसेवी घनश्याम थापामगरले बताए ।

बाग्लुङको निसीखोला गाउँपालिका–७ राजकुटकी खिरमती सुनार (दिया सुनार) केही महिनाअघि मात्र रोजगारीका लागि कुवेत पुगेकी थिइन् । कुवेतको जहरा अलीमा रहेको कुवेती नागरिकको घरमा काम गरिरहेको अवस्थामा मालिकबाट हातपात भएपछि प्रतिकार गर्दा उनलाई बन्धक बनाएर राखिएको र उनी सम्पर्कविहीन बनेको पीडित परिवारले जनाएको छ ।

पीडित चेलीलाई उद्धार गरेर नेपाल पठाउने कार्य भइरहेको समाजसेवी थापामगरले बताए । पछिल्लो समय नेपाल फर्किन पाउने आशमा १२ देखि १५ जनाभन्दा धेरै नेपाली चेली आफ्नो सम्पर्कमा आएको समाजसेवी थापामगरले बताए ।

राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *