साउदीमा कामदार र कम्पनीको अवस्था अनलाइनबाटै जाँच गर्न सकिने

डिसी नेपाल
२१ माघ २०८० ७:३९
308
Shares

काठमाडौं । साउदी अरबमा कार्यरत नेपाली कामदार र कम्पनीको अवस्था अनलाइनमार्फत जाँच गर्न सकिने भएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार एक्जिट भिसाका लागि दूतावास आउनुभन्दा अगाडि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्न अनुरोध गरिएको छ । यसका लागि दूतावासले उपलब्ध गराएको लिंकमा गएर जाँच सकिनेछ । यसरी जाँच गर्दा वर्कर नम्बरमा देखिने अगाडिको कोड नम्बर (सिटी नम्बर)बाट इकामा जारी भएको स्थान (सिटी प्रदेश) पत्ता लगाउन सकिनेछ ।

रियादबाट इकामा बनेकालाई मात्रै एक्जिट भिसा प्रोसेसिङका लागि दूतावासमा आउन दूतावासले अनुरोध गरेको छ । इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका, साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाई दिएका र हुरुब लागेका कारणबाट गैरकानुनी अवस्थामा रहेका व्यक्तिहरूले नेपाल फर्कने प्रयोजनका लागि जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको दूतावासले जनाएको छ ।

रियादभन्दा बाहिरबाट इकामा बनेकाहरू जसको इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका, साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएका एक्जिट भिसा प्रोसेसिङका लागि सम्बन्धित सिटी (स्थान)को लेबर अफिस (मकतव अमल) र हुरुप लागेकाहरू सिधै सम्बन्धित प्रदेशको अध्यागमन (जवाजत) अफिसमा जान पनि दूतावासले अनुरोध गरेको छ ।

पछिल्ला दिनमा रोजगारदाता कम्पनीहरूले अकमा नबनाइदिने, करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । यसले विदेशमा श्रम गर्न त्यहाँ पुगेका नेपालीहरू हिँडडुल गर्न, आफूले कमाएको धेरथोर पैसा घरपरिवारलाई पठाउन वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट पीडित हुनुपरेको छ ।

साथै यस्ता घटनालाई कम गर्न नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपालीलाई कम्पनीने आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ ।

पछिल्लो समय साउदी पुगेका हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौताअनुसारको तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउनेछ ।

साउदीमा ११ हजारभन्दा बढी नेपालीले गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ । यो दूतावासको सम्पर्कमा आएकाको संख्या हो ।

४९ नेपालीलाई एक्जिट भिसा

साउदीमा गैरकानुनी रूपमा रहेका ४९ जना नेपालीले एक्जिट भिसा प्राप्त गरेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार बहिर्गमन भिसा (एक्जिट भिसा ) को प्रक्रिया गरिएका मध्ये ४९ जनाको एक्जिट भिसा प्राप्त भएकाले चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीहरूले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर लिएर जान दूतावासले अनुरोध गरेको छ । एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु नपर्ने जनाएको छ ।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क छ । यसबापत एक हलाला पनि कहिँ कतै बुझाउनुपर्दैन । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ । एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेहुन्छ ।

राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *