सीमा क्षेत्रमा दुई जनाको मृत्यु भएपछि बंगलादेशले म्यानमारका राजदूतलाई बोलायो

डिसी नेपाल
२४ माघ २०८० १२:४२
52
Shares

काठमाडौं । बंगलादेशको विदेश मन्त्रालयले सीमा पारबाट प्रहार गरेको मोर्टारका कारण दुई जनाको मृत्यु भएको भन्दै म्यानमारका राजदूतलाई बोलाएको छ ।

म्यानमारको सेना र विद्रोही समूहबीच बढ्दो द्वन्द्वका कारण बंगलादेशका केही सीमावर्ती गाउँमा त्रासको वातावरण सिर्जना भएको छ ।

म्यानमार सेनाका धेरै सैनिक बंगलादेश भागेका छन् । म्यानमारबाट भागेर बंगलादेशमा रहेका यस्ता नागरिक र सैनिकको संख्या २२९ पुगेको छ ।

अराकान विद्रोहीहरूले सीमावर्ती क्षेत्रका धेरै स्थानहरू कब्जा गरेको बताइएको छ।

बंगलादेशमा सोमबार बिहान म्यानमारबाट प्रहार गरिएको मोर्टार प्रहारबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

गत नोभेम्बरदेखि म्यानमारको बंगलादेशसँगको २७० किलोमिटर लामो सीमावर्ती क्षेत्रहरूमा विद्रोही अराकान आर्मी (एए) लडाकुहरूले २०२१ को कू पश्चात् जारी युद्धविराम अन्त्य गर्ने घोषणा गरेपछि हिंसात्मक द्वन्द्व चलिरहेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार म्यानमारसँग सीमा जोडिएको बंगलादेशका गाउँहरूमा बस्ने मानिसहरू यस द्वन्द्वका कारण डरको वातावरणमा बाँचिरहेका छन्।

सहायता एजेन्सी डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले आइतबार हिंसात्मक झडपमा घाइते भएका १७ जनाको उपचार गरेको जनाएको छ ।

एमएसएफले सोमबार भनेअनुसार सबै घाइतेहरूलाई गोली लागेको थियो। जसमध्ये २ जनाको अवस्था खतरामुक्त छ भने ५ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय प्रहरी प्रमुख अब्दुल मन्नानले ४८ वर्षीया बंगलादेशी महिला हुस्ने आराको सोमबार मृत्यु भएको बताए । उनीबाहेक सोमबार दिउँसो एक अज्ञात रोहिंग्या व्यक्तिको पनि मृत्यु भएको थियो ।

हुस्ने आराकी बुहारीले भनिन्, “उनीहरू भान्सामा बसिरहेका थिए जब एक्कासी मोर्टार खसेको थियो। उनले ती रोहिंग्या व्यक्तिलाई खाना खुवाइरहेका थिए। हामीले त्यो मानिसलाई हाम्रो खेत हेरचाह गर्न राखेका थियौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *