माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि काठमाडाैंमा सुरु हुँदै

डिसी नेपाल
१ फागुन २०८० ६:४२
28
Shares

काठमाडौं। सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि काठमाडाैंमा सुरु हुँदैछ। आज बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो। पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो।

प्रस्तावित विधानमा यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो। गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनका तयारीका बारेमा पनि छलफल भएको थियो।

छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई संक्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.