अमेरिकी गुप्तचर संस्थाका प्रमुखको राजीनामा

डिसी नेपाल
१६ साउन २०७६ १०:४९

वासिङ्टन (एजेन्सी) । अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख ड्यान कोट्स ट्रम्प प्रशासन छाड्ने अर्का उच्च पदस्थ सरकारी अधिकारी बनेका छन् । राष्ट्रपति ट्रम्पले अगस्ट महिनाको मध्यमा कोट्स पदबाट अलग्गिने र उनको स्थानमा टेक्ससका कंग्रेस सदस्य जन ¥याट्क्लिफलाई आफूले मनोनयन गर्ने जनाएका छन् । अमेरिकालाई माया गर्ने भएकाले ¥याट्क्लिफले नेतृत्व र श्रेष्ठताका लागि प्रेरणा दिने ट्रम्पले उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्प र कोट्सबीच रुस र उत्तर कोरियाको विषयमा बारम्बार मतभिन्नता देखिएको थियो । गत जनवरी महिनामा राष्ट्रपति ट्रम्पले गुप्तचर निकायका प्रमुखहरू निष्क्रिय भएका र इरानले उत्पन्न गराएको जोखिमको विश्लेषण भरपर्दो नदेखिएको टिप्पणी गरेका थिए ।

एक वर्षअघि राष्ट्रपति ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर बैठकका लागि फिनलन्ड जान लागेको सुनेपछि आश्चर्य व्यक्त गर्दै कोट्स हाँसेका थिए । ‘त्यो विशेष हुनसक्छ,’ पुटिनसँगको भेटबारे एउटा सार्वजनिक कार्यक्रममा भनिएपछि हाँस्दै कोट्सले त्यस बेला भनेका थिए । त्यसपछि उनले आफ्नो प्रतिक्रियाका लागि माफी मागेका थिए । त्यस क्रममा उनले आफ्नो त्यस किसिमको ‘असहज प्रतिक्रिया’ राष्ट्रपति ट्रम्पप्रति अनादर गर्न वा आलोचना गर्न लक्षित नभएको बताएका थिए ।

राष्ट्रपतिलाई बुझाइएको राजीनामा कोट्सले ट्रम्पको साढे दुईवर्षे कार्यकालमा गुप्तचार निकाय पहिलाको भन्दा बलियो भएको उल्लेख गरेका छन् । ‘त्यसैले यही बेला मैले जीवनको अर्को अध्यायका लागि निस्कनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले लेखेका छन् ।

विदेश नीतिबारे बेलाबेलामा मतभिन्नता देखिए पनि कोट्सका अनुसार गत फेब्रुअरीमा राष्ट्रपतिले उनलाई पदमा बसिराख्न भनेका थिए । ड्यान कोट्स पूर्वकूटनीतिज्ञ र पूर्वसांसद हुन् । सन् २०१७ को मार्च महिनामा जेम्स क्ल्यापरको उत्तरीधिकारीका रूपमा उनी राष्ट्रिय गुप्तचर निकायको निर्देशक नियुक्त भएका थिए । उनको जन्म मिशगन राज्यको ज्याक्सनमा भएको थियो । उनले राजनीतिशास्त्र र कानुनको अध्ययन गरेका छन् । उनी इन्डियाना राज्यबाट सन् १९८९ र सन् २०१७ मा दुईचोटि सिनेटर बनेका थिए । उनी सन् २००१ देखि २००५ सम्म जर्मनीका लागि अमेरिकी राजदूत थिए ।

जन ¥याट्क्लिफ सन् २०१५ मा टेक्ससबाट कंग्रेस सदस्य निर्वाचित भएका थिए । उनी राष्ट्रपति ट्रम्प र उनका नीतिहरूका समर्थक हुन् । ट्रम्पले उनलाई ‘धेरै सम्मानित सांसद’ भनेर प्रशंसा गरेका छन् ।

उनको मनोनयन पारित भयो भने ¥याट्क्लिफ र ट्रम्पको धारणा मिल्ने अपेक्षा गरिएको छ । गत हप्ता ¥याट्क्लिफले सन् २०१६ मा भएको निर्वाचनमा रुसी हस्तक्षेपबारे रोबर्ट म्युलरले गरेको छानबिनबारे भएको छलफलमा राष्ट्रपतिको प्रतिरक्षा गरेका थिए । म्युलरले ट्रम्पलाई न्याय सम्पादनमा अवरोध गरिएको आरोपमा सफाइ नदिइएको भनेका छन् ।

¥याट्क्लिफले म्युलरलाई ट्रम्प दोषी नभएको वा उनलाई सफाइ दिने अधिकार नभएको बताएका थिए । ¥याट्क्लिफले अन्धभक्ति देखाएकाले ट्रम्पले उनलाई छानेको आरोप सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शुमरले लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *