विश्वकप विजेता कप्तान प्याट कमिन्स सनराइजर्स हैदराबादको कप्तान नियुक्त
काठमाडौं । सनराइजर्स हैदरावादले अष्ट्रेलियाका प्याट कमिन्सलाई आईपीएलमा आफ्नो टिमको नयाँ कप्तान नियुक्त गरेको छ । टोलीले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो । कमिन्सले दक्षिण अफ्रिकाका एडेन मार्करामको स्थान लिनेछन् । गत सिजन, मार्करामको कप्तानीमा टोली अंक तालिकाको अन्तिममा थियो ।
प्याट कमिन्सको कप्तानीमा अष्ट्रेलियाले २०२३ मा २ आईसीसी उपाधि जित्यो। नोभेम्बरमा भारतलाई पराजित गर्दै टोलीले एकदिवसीय विश्वकप जितेको थियो। यसअघि जुनमा पनि भारतलाई हराएर विश्व टेस्ट च्याम्पियनसिप ट्रफी कब्जा गरेको थियो । कमिन्सको कप्तानी कौशल देखेर सनराइजर्सले उनलाई नयाँ कप्तान बनाएको थियो ।
दक्षिण अफ्रिकाका एडेन मार्करामले गत सिजन आईपीएलमा हैदराबादको कप्तानी गरेका थिए। टोलीले १४ खेलमध्ये ४ खेलमा मात्रै जित हात पार्दै ८ अंकसहित १० औं स्थानमा उभिएको थियो । यसअघि सन् २०२२ को सिजनमा पनि टोली ९ नम्बरमा रहेर प्लेअफमा पुग्न सकेन । टोलीले पछिल्लो पटक २०२१ मा आईपीएलको फाइनल खेलेको थियो।
मार्कराम अझै पनि दक्षिण अफ्रिकाको टी-२० लिगमा सनराइजर्स इस्टर्न क्यापको कप्तान छन्। उनको कप्तानीमा टोलीले लगातार २ सिजन उपाधि जितेको थियो । २०२३ को पहिलो सत्रमा, टोलीले प्रिटोरिया क्यापिटल्सलाई पराजित गर्यो। २०२४ मा डरबन सुपरजायन्ट्सलाई हराएर टोली च्याम्पियन बनेको थियो ।
एसआरएचले हालै आफ्नो कोचिङ स्टाफमा पनि परिवर्तन गरेको छ । व्यवस्थापनले मुख्य प्रशिक्षक ब्रायन लारालाई हटाएर उनको स्थानमा न्यूजिल्याण्डका ड्यानियल भेट्टोरीलाई नियुक्त गरेको छ । बलिङ प्रशिक्षक डेल स्टेनले व्यक्तिगत कारणले आईपीएलबाट ब्रेक लिएका छन् । व्यवस्थापनले न्युजिल्यान्डका जेम्स फ्र्याङ्कलिनलाई नयाँ बलिङ प्रशिक्षकको रूपमा बदलेको छ।







डिसी नेपाल







Facebook Comment