चर्को ब्याजका कारण उद्योगधन्दा संचालन गर्न सकिने अवस्था छैन : वरिष्ठ उपाध्यक्ष गोल्छा

डिसी नेपाल
१६ साउन २०७६ १६:४३

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुको चर्को ब्याजका कारण उद्योगधन्दा संचालन गर्न सकिने अवस्था नरहेको बताएका छन्।

वरिष्ठ उपाध्यक्ष गोल्छाले बैंकहरुले चर्को ब्याज लिने व्यवस्थालाई कायमै राखेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको उल्लेख गर्दै त्यसले उद्योगधन्दा स्थापना तथा संचालन गर्न सकिने अवस्था नरहेको बताएका हुन्।

बिहीबार काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उनले विगत ३ वर्षयता आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि भएपनि त्यसले बजारमा तरलताको अभाव देखिँदा बैंकहरुबाट ऋण लिने अवस्था नरहेको गुनासो गरे।

त्यसमा कर्जा लिइहाले पनि उच्च व्याजदरका कारण आफूहरु समस्यामा पर्ने अवस्था आएको वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाइ छ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले चर्को व्याजदर कायमै राखेर मुलुकमा कसरी उद्योगधन्दा चलाउन सकिन्छ ? भनि प्रश्न गरे। कार्यक्रममा बोल्दै संघीय संसद अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले पनि उद्योगीहरुको पक्षमा मौद्रिक नीति ल्याउन नसकेको भन्दै नेपाल राष्ट्र बैंकप्रति असन्तुष्टि जनाए।

उनले ब्याजदर उच्च राख्ने अनि ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने सरकारको लक्ष्य अनुसार नै मौद्रिक नीति ल्याइएको भन्ने नेपाल राष्ट्र बैंकको भनाई तथ्यपरक नभएको भन्दै आपत्ति जनाए।

सभापति दाहालले उत्पादन वृद्धि गरेर मुलुकको आर्थिक वृद्धिदरलाई बढाउनुपर्नेमा त्यसलाई घटाउने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको दावी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *