जुवाडे पक्राउ, दुई करोड ६३ लाख असुल

डिसी नेपाल
२० चैत २०८० २३:२७
48
Shares

काठमाडौं। नेपाल प्रहरीले चालु आर्थिक वर्षको आठ महिनामा देशका विभिन्न स्थानमा जुवातास खेल्ने एक हजार आठ सय १७ व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवातास खेल्नेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट सात सय ७९, कोशी प्रदेशबाट एक सय १५, बागमती प्रदेशबाट एक सय १३, गण्डकी प्रदेशबाट दुइ सय ९९, लुम्बिनी प्रदेशबाट ९४, कर्णाली प्रदेशबाट एक सय ४ र सुदूरपश्चिम प्रदेशबाट तीन सय १३ जना रहेका छन्।

उक्त अवधिमा प्रहरीले उनीहरूको साथबाट रु दुई करोड ६३ लाख ४५ हजार चार सय १७ बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उक्त अवधिमा प्रहरीले जुवातास खेल्नेबाट पाँच सय ५४ बुक तास र दुई सय ५० थान कौडा बरामद गरेको छ । ‘जुवा खेलेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ’, प्रवक्ता ढकालले भने।

मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ।

यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र रु १० हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधान समेत छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *