डा. उपाध्यायले पुर्‍याए १५३ विश्व कीर्तिमान

डिसी नेपाल
२३ चैत २०८० २२:५३
36
Shares

काठमाडौं। यसअघि गीत संगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गरेका विश्व कीर्तिमानी डा. डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्‍याएका छन्। उनका थप २० विश्व कीर्तिमान बिहीबार काठमाडौंमा एक विशेष समारोहबीचसार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उनका कीर्तिमानको संख्या १५३ पुगेको हो।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षामन्त्री हरिप्रसाद उप्रेतीले डा. उपाध्यायलाई हस्तान्तरण गरे।

समारोहमा महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका पूर्व अध्यक्ष चूडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपालीसाहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वर्ल्ड रेकर्डका फाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनाल लगायतले डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिँदै उनका कर्मलाई देशले नै गौरव गर्नुपर्ने बताएका थिए। प्रमुख अतिथि रक्षा मन्त्री उप्रेतीले डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिँदै डा. उपाध्यायले आफूलाई सधै सकारात्मक कर्मतर्फ डोर्‍याएका कारण यो सबै सम्भव भएको बताए।

आफूले नयाँ नयाँ विषयवस्तुमा खोज अनुसन्धान र केही फरक गरौँ भन्ने धारणाका साथ काम गर्दै जाँदा आफ्ना विश्व रेकर्डको संख्या १५३ पुगेको डा. उपाध्यायले बताए। ‘म समाजका लागि गीत उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’ भन्दै उनले स्रोता र दर्शकले रुचाइदिँदा थपहौसला र अपार आनन्द हुने सुनाए। सो अवसरमा एभरेष्ट वर्ल्ड रेकर्डसका मधुरा श्रेष्ठले डा. उपाध्यायलाई १५३ वर्ल्ड रेकर्डको मेडल पनि प्रदान गरेका थिए। कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई द विट्रिस रेकर्ड अनर सर्टिफिकेट प्रदान गरिएको थियो।

यही महिना डा. उपाध्यायलाई विश्वको सर्वाधिक उचाईमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको प्रमाण पत्र राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हस्तान्तरण गरिएको थियो। डा. उपाध्यायले विश्वमा एकैदिनसबैभन्दा बढी आर्टिकल लेखेर तथा सबै भन्दा धेरै भाषामा गीत लेखेर पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका छन्।

डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित बुक अफ अमेरिका, एभरेष्ट वर्ल्ड रेकर्ड, स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, अष्ट्रेलिया, युके लगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन्। डा. उपाध्यायका ३६ बढी गीति एल्वम, १६ उपन्यास, तीन गीति कविता र सयौँ गीतका भिडियो सार्वजनिक छन्। उनले देश विदेशका विभिन्न संघ संस्थाबाट सयौँ मान सम्मानअवार्ड र पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाली गीत संगीतमा उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गरेका छन् भने उनी विश्वको टप टेनमा पर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *