‘अल्लाह’ अर्थाउने शब्द राखी जुत्ता उत्पादन, मलेसियाले गर्यो कारबाही
क्वालालम्पुर। विवादास्पद लोगोका कारण मलेसियामा जुत्ता उत्पादन गर्ने कम्पनी विवादमा परेको छ।
जुत्ता उत्पादन गर्ने भेर्न होल्डिङ्स नामको कम्पनीले विवाद बढेपछि माफी मागेको छ। कम्पनीले विवादित लोगो भएको जुत्ता बिक्रीमा तत्काल प्रतिबन्ध लगाइएको जनाएको छ।
बजारमा बिक्री भइरहेको भेर्न होल्डिङ्स कम्पनीको जुत्ताको लोगो अरबी भाषामा ‘अल्लाह’ शब्दसँग मिल्दोजुल्दो रहेको भन्दै मुस्लिम समुदायले आपत्ति जनाएका थिए। मुस्लिम समुदायले तत्काल बजारबाट सबै जुत्ता हटाउन आग्रह गरेका छन्। विवाद बढेपछि कम्पनीले माफी मागेर डिजाइनमा त्रुटि भएका कारण लोगो गलत भएको स्वीकार गरेको थियो।
आफ्नो स्पष्टीकरण प्रस्तुत गर्दा भेर्न होल्डिङ्सले सामाजिक सञ्जालमा लेखेको छ, ‘यस गल्तीका लागि व्यवस्थापनले माफी मागेको छ। हाम्रो नियत कुनै धर्म वा आस्थालाई अपमान गर्ने थिएन, कसैको अपमान गर्ने हाम्रो उद्देश्य थिएन। हामी क्षमाको लागि आशा गर्दछौं ताकि हामीले त्यो गल्ती सच्याउन सकौं।
यो विषयलाई लिएर विवाद चर्किएपछि प्रहरी कारबाहीमा आयो। घरेलु जुत्ता ब्राण्ड भेर्नविरुद्ध प्रहरी चौकीमा ८ वटा उजुरी परेको थियो। उजुरी परे पछि प्रहरीले कुल ११ सय जुत्ता बरामद गरेको थियो।
प्रहरी महानिरीक्षक राजरुद्दीन हुसेनले स्थानीय सञ्चारमाध्यमलाई उक्त कम्पनीमाथि दण्ड संहिताको दफा २९८ अन्तर्गत अनुसन्धान भइरहेको बताए। यो खण्डले जानाजानी अरूको धार्मिक भावनामा चोट पुर्याउने नियतसँग सम्बन्धित छ। यससँगै सञ्चार तथा मल्टिमिडिया ऐन, १९९८ को दफा २३३ अन्तर्गत पनि अनुसन्धान भइरहेको छ।
यस घटनापछि मलेसियाको इस्लामिक मामिला हेर्ने एजेन्सी इस्लामिक विभागले यसप्रति कडा आपत्ति प्रकट गर्दै कम्पनीका संस्थापक एनजी चुहान हुलाई बोलाएको थियो। अनुसन्धानमा कम्पनीले नियतवश यस्तो गरेको पाइएमा कडा कारबाही गरिने विभागले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment