दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार सीमाविद् बुद्धिनारायणलाई प्रदान
काठमाडाैं। दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार-२०८० वरिष्ट लेखक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिएको छ।
दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रको आयोजनामा हालै त्रि. बि. परिसरमा सम्पन्न प्रतिभा सम्मान कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बरालले दोसल्ला ओढाई ताम्रपत्र सहित नगद पुरस्कार पचास हजार श्रेष्ठलाई अर्पण गरेका थिए।
उपकुलपति बरालले राष्ट्रिय योगदानमा समर्पित व्यक्तिको पहिचान गरी सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरेर स्मृतिकेन्द्रले राट्रिय कर्तव्य पूरा गरेको कुरामा जोड दिए।
केन्द्रले यस अधिका बर्षहरुमा संस्कृति ,शिक्षा ,साहित्य ,इतिहास ,दर्शन, संस्कृति ,ज्योतिष शास्त्र ,समाजसेवा जस्ता महत्त्वपूर्ण विषयक्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिहरू जस्तै शताब्दी पुरुष सत्यमोहन जोशी, प्राज्ञ ज्ञानमणि नेपाल ,प्रा डा सुरेशराज शर्मा, मदनमणि दीक्षित, तुलसीराम वैद्य, प्रा.डा त्रिरत्न मानन्धर, डा. सुरेन्द्र केसी, डा. जगमान गुरुङ ,प्राज्ञ विष्णु प्रभात, प्रा. रमा शर्मा, पुण्यरश्मि खतिवडा लगायतका व्यक्तित्वलाई सम्मान गरेको सन्दर्भ कार्यक्रमका सभापति तथा केन्द्रका अध्यक्ष बरिष्ट इन्जिनियर ईश्वरचन्द्र बानियाले उल्लेख गरेका थिए।
उपस्थित महानुभावलाई संस्थाका उपाध्यक्ष मदनराज थापाले स्वागत गरेका थिए।
स्वागत मन्तव्यकै क्रममा थापाले नामित प्रतिमा दण्डपाणि अर्ज्याल इतिहास, संस्कृति, समाजशास्त्र र ज्योतिष विषयका ज्ञाता शिक्षासेवी भएकाे र उनकाे व्यक्तित्व उजिल्याउन उनकी धर्मपत्नी नन्दकुमारीको पनि योगदान रहेकाले पुरस्कारको नाम “दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार” राखिएको विषय प्रकाश पारेका थिए।
उक्त सम्मान कार्यक्रम सञ्चालनका क्रममा महासचिव कपिलचन्द्र खनालले आगामी दुईचार दिनभित्र देशविदेशमा रहेका कोष संस्थापक, शुभचिन्तक र साहित्यानुरागी व्यक्तिहरूलाई जुमका माध्यमबाट जोडेर बुद्धिनारायण श्रेष्ठका बारेमा परिचर्चा कार्यक्रम आयोजना गरिने कुरा उद्घोषण गरेका थिए।
कार्यक्रममा साहित्यकार सीता अर्याल र गीता रेग्मी, पुरातत्वविद् प्रकाश दर्नाललगायतका केन्द्रका परिवारजनको उपस्थिति रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment