पृथ्वीनारायण शाह, अमेरिका, भारतका उर्जा र चीनका सुरक्षा

खगेन्द्रराज सिटौला
१० वैशाख २०८१ ७:४८
592
Shares

कतिपयले पृथ्वीनारायण शाह अमेरिका र भारतको उर्जा र चीनको सुरक्षा शीर्षक देख्दा अनौठो मान्न सक्छन्। बढाई चढाई भन्न सक्छन्।

यथार्थसँग मेल नखाने भन्न सक्छन्। तर तथ्यले, व्याख्याले, घटनाक्रमले, अभिव्यक्तिले यसलाई सही साबित गर्दछ। घटनाक्रम, अभिव्यक्ति र विश्लेषण केलाउदै अधिबढौं।

पृथ्वीनारायण शाहले नेतृत्व र निर्देशन दिएका गोरखाली फौजले उच्च मनोबल,कुशल छापामार र बहादुरीलाई भौगोलिक अनुकुलता समेतको तालमेलमा आक्रमण गरेर सिन्धुलीमा आफूभन्दा धेरै बलियो अंग्रेज फौजमाथि विजय हासिल गरेको थियो।

यो विजय पछि गोरखाली फौजको ख्याती विश्वभरि फैलियो। त्यसबेलाको शक्तिशाली अंग्रेज फौजलाई पराजित गर्नु कुनै चानचुने कामको परिणाम थिएन।

त्यसबेलाको घाम नअस्ताउने भनिएको एककिसिमको विश्वशक्ति अंग्रेज सेनालाई सानो गरिब र कतै नचिनिएको गोरखाली फौजले पराजित गरेर लखेटेको घटना विश्वमा युद्ध संसार र सञ्चारको लागि सनसनी मच्चाउने खबर थियो।

यो खबर पूर्व पश्चिम सबैतिर फैलिएर जानु स्वभाविकै थियो। अहिले जस्ता सञ्चारको सञ्जाल नभए पनि त्यसबेलाको समाचार फैलने संयन्त्र बमोजिम समाचार फैलिएको थियो। यो समाचार अमेरिकासम्म पनि फैलिएको रहेछ।

यता नेपालमा विश्व शक्ति अंग्रेज शक्तिलाई हराएर गोरखाका राजा पृथ्वीनारायण शाह नेपाल एकीकरण अभियान अगाडि बढाइरहेका थिए। उता अमेरिका भने अंग्रेज उपनिवेशको जाँतोमुनि पिसिइरहेको थियो।

अमेरिका अंग्रेजको उपनिवेशी पिसाईबाट मुक्त हुन चाहिरहेको थियो। अंग्रेज उपनिवेशबाट अमेरिकालाई मुक्त गर्न अमेरिकी जनतालाई जगाउन र मनोबल उठाउन अमेरिकीहरुले गोरखालीको अंग्रेजमाथिको विजयलाई उदाहरण बनाएका थिए।

उनीहरुले भनेका थिए सानो र कमजोर गोरखालीले अंग्रेजलाई जित्नसक्छ भने हामी किन जित्न सक्तैनौं? हामी किन जुध्न सक्तैनौं? अमेरिकीले आफ्नो मनोबलको उर्जा गोरखाली विजयलाई बनाए। तल उदाहरण हेरौं।

“उपनिवेशवादको विरुद्धको अभियान नेपालबाट शुरु भयो। पृथ्वीनारायण शाहको नेपालको पुनःएकीकरणको अभियान उपनिवेशवाद विरुद्धको पहिलो घोषणा थियो।

सिन्धुलीमाढीको युद्धपछि अमेरिकी लेखक थोमस पेनले “सानो गोर्खाले बृटिस उपनिबेशलाई लखेट्न सक्छन् भने हामी किन सक्तैनौं” भनी पर्चा लेखे। अमेरिका स्वतन्त्र भयो, र उपनिवेशका विरुद्ध लड्ने दोस्रो देश भयो।” ( स्रोत डा. युवराज संग्रौलाको फेसबुक वाल)

यसले प्रमाणित गर्दछ कि पृथ्वीनारायण शाह अमेरिकाको उपनिबेश बिरोधी स्वतन्त्रता संग्रामका उर्जा भएका थिए। अमेरिकीहरुले पृथ्वीनारायण शाहले निर्देशन र नेतृत्व दिएको बहादुर गोरखाली योद्धाबाट प्रेरित भएर आफूमा उर्जा भरेका थिए।

यसकारण पृथ्वीनारायण शाह अमेरिकाका उर्जा हुन् भनेर निर्धक्क भन्न सकिन्छ। सिन्धुलिमा गोरखाली सेनाले अंग्रेज सेनामाथिको विजयको समाचार अंग्रेज उपनिवेशबाट अमेरिकालाई मुक्त गराउन मनोबल बढाउने उपचार भएको छ।

अब भारततिर लागौं। अहिले जस्तो सञ्चारको छिटो छरितो सञ्जाल नभएको विश्वमा गोरखालीको अंग्रेज फौजमाथिको विजयको समाचार अमेरिकासम्म पुग्छ भने छेवैको भारतमा त नपुग्ने सवालै भएन।

अंग्रेज फौजमाथिको विजयको समाचार अंग्रेज शासित त्यसबेलाका अनेक नामका अहिलेको भारत पाकिस्तान बंगलादेश रहेका राज्यका जनतामा फैलनु स्वभाविक थियो।

जनजनमा यो कुरा फैलियो र जनजनको मनले भनेको हुनुपर्छ त्यती सानो र गरिब गोरखाले अंग्रेजलाई जितेर आफ्नो राज्यलाई स्वतन्त्र राख्न सक्छ भने हामी सबै मिलेर अंग्रेजलाई किन लखेट्न सक्तैनौं? किन नेपालजस्तै स्वतन्त्र र सम्मानित भएर बाँच्न सक्तैनौं भनेर पृथ्वीनारायणले स्थापित गरेको चिन्तन सौर्य र देशभक्तिको शक्तिले भारतीयहरुलाई कहीँ न कहीँ उर्जा भरिरहेको हुन्थ्यो।

पृथ्वीनारायण शाहले नेतृत्व र निर्देशन दिएको गोरखाली फौजले सिन्धुलीबाट अंग्रेज फौजलाई पराजित गरेर लखेटेको र पृथ्वीनारायणकै नेतृत्वले एकीकृत भएको नेपाल र उनैले स्थापित र विकसित गरेको नेपाली फौजले बहादुरीपूर्वक अंग्रेज फौजसँग लडेको इतिहासबाट निश्चयनै भारतीयहरु प्रेरित हुने नै भए।

गोरखाली याने नेपालीहरु अंग्रेजसँग किन बिकेनन्? किन झुकेनन्? नेपाल किन हामी जस्तो अंग्रेजको गुलाम भएन? यस्ता सवालहरुले भारतीयलाई घोचिरहेको हुनुपर्छ। नेपालीहरु अंग्रेजसँग भिड्न सक्छन् भने हामी किन भिड्न सक्तैनौं?

यसरी भारतीयहरुमा पृथ्वीनारायण शाहले खडा गरेको स्थापित र विकसित गरेको गोरखाली याने नेपाली सौर्यले निश्चय नै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको थियो। उनीहरुमा उर्जा भरिएको थियो।

पृथ्वीनारायणले अधि सारेको विचार विदेशी कपडा मन्हाइ गर्नु र स्वदेशी उत्पादन प्रयोग गर्नु भन्ने पृथ्वीविचार भारतीय स्वतन्त्रता संग्राममा चर्खा आन्दोलन भएर व्यवहारमा आयो। महात्मा गान्धीले अंग्रेज उत्पादन बहिस्कार स्वदेशी उत्पादन स्वीकारको चर्खा आन्दोलन चलाए।

अंग्रेजबाट उत्पादित कपडा नलगाउने आफ्ना लागि आफैं कपडा उत्पादन गरेर लगाउने महात्मा गान्धीको उपनिवेशवादी अंग्रेज बिरोधी चर्खा आन्दोल वास्तवमा हाम्रा पृथ्वीनारायणको विदेशी कपडा मन्हाई गर्नु र आफ्ना लागि आफैं उत्पादन गरेर लगाउनु नै हो जो स्वतन्त्रता संग्रामको एउटा वैचारिक हतियार भएर व्यवहारमा उत्रियो।

यस हिसाबले हेर्दा इतिहास दिएर पनि विचार दिएर पनि पृथ्वीनारायण शाह भारतका स्वतन्त्रता संग्रामका पनि उर्जा भएका थिए भन्दा अत्युक्ति हुने छैन। तथ्य संगत नै हुनेछ।

यदि पृथ्वीनारायण शाहको गोरखा फौजले नेपालको सिन्धुलीमा अंग्रेज फौजलाई रोकेको थिएन भने अंग्रेजले नेपाल कब्जा गरेर तिब्बत कब्जा गर्दै चीन पस्ने थियो। यसो भएको भए एसियाको राजनीति नक्सा फरक हुने थियो।

अमेरिकाका पूर्व विदेशमन्त्री एवं प्रसिद्ध कुटनीतिज्ञ हेनरी किसिन्जरले आफ्नो पुस्तक अन चाइनामा उक्त कुरा लेखेका छन्। उनको विश्लेषण हो अंग्रेजले भारत जस्तै नेपाल, तिब्बत चीनमा पनि आफ्नो उपनिवेशी शासनको पकड बलियो बनाउने थियो। भारतमा जस्तै उनीहरुलाई स्वतन्त्रता दिएर गएको बेलामा चीन तिब्बतलाई पनि अनेक टुक्रामा विभाजित गरेर जाने थियो।

यस हिसाबले केलाउदा हेनरी किसिन्जरको विश्लेषणको बलियो अर्थ यही हो कि पृथ्वीनारायणले अंग्रेजी फौजलाई नेपालमा छिर्न नदिइ लखेटेर नेपालको मात्रै सुरक्षा गरेनन् तिब्बत–चीनलाई समेत सुरक्षा दिए।

पृथ्वीनारायणले नेपालका नाकाबाट मात्रै अंग्रेजलाई तिब्बत छिर्नबाट रोकेनन् भारत,सिक्किमका अनेक नाकाबाट पनि उसलाई तिब्बत छिर्नबाट रोके। उनले नेपाल एकीकरण गरेपछि काठामाडौंबाट शासन गर्न थालेपछि तिब्बतको शासक दलाई लामालाई पत्र लेखेर अंग्रेजसँग कुनै किसिमको पनि व्यापारिक सन्धी सम्झौता नगर्नु भनेर पत्र लेखेका थिए।

उनले उक्त पत्रमा यदि अंग्रेज व्यापारको निउमा तिब्बत छिर्न पायो भने तिब्बतको शासन पनि लिन्छ र धर्म संस्कृति पनि लिन्छ भनेर सचेत पनि गराएका थिए। तिब्बतसँग अंग्रेजले व्यापारको लागि अनुमति मागेको पत्र पठाएको पृथ्वीनारायणले थाहा पाएपछि उक्त पत्र लेखेर तिब्बतलाई सचेत गराएका थिए। जसको कारणले तिब्बतले अंग्रेजसँग व्यापारिक सन्धि गर्नबाट आपूmलाई रोकेको थियो। यसरी दोस्रो पटक पनि पृथ्वीनारायणले अंग्रेजलाई तिब्बत छिर्नबाट रोक्न सफल भएका थिए। तिब्बतमा अंग्रेजलाई छिर्नबाट रोक्नु भनेको चीनलाई समेत सुरक्षा दिनु पनि हो।

यसबाट हामीले स्वीकार्नु पर्छ कि अंग्रेज बिरोधी स्वतन्त्रता संग्राममा अमेरिका र भारतको लागि पृथ्वीनारायण शाहले कुनै न कुनै रुपमा उर्जा दिएका छन्। त्यसरी नै पृथ्वीनारायण शाह अंग्रेजलाई तिब्बतमा छिर्न नदिएर चीनका लागि पनि कुनै न कुनै रुपमा सुरक्षा भएका छन्। त्यसैले त पृथ्वीनारायण शाह अमेरिका र भारतका उर्जा चीनका सुरक्षा।

पृथ्वीनारायण शाह अमेरिका र भारतका लागि उर्जा र चीनका लागि सुरक्षलाई अमेरिका, भारत र चीनका जनता नेता सबैलाई हामीले बुझाउनु पर्दछ। यसलाई बुझाउन सकेको खण्डमा अन्तर्राष्ट्रिय जगतामा नेपाल र नेपालका संस्थापक नेताको समेत प्रतिष्ठा उचो भएर जान्छ।

पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता,शक्ति,देशभक्ति र गौरव हुन्। यही यथार्थता नेपालीले नबुझुन् भनेर पृथ्वीनारायण शाहलाई नेपालीको मनबाट भत्काउन सकियो भने नेपाललाई सबै किसिमले भत्काउने टुटाउने र कमजोर बनाउन सकिन्छ भन्ने परहरुले बुझेका छन्।

कमजोर नेपालमाथि आ-आफ्ना रणनीति सजिलै थोपार्न सकिन्छ भनेर नै अनेक आवरणमा पृथ्वीनारायणप्रति घृणा बढाउने सामाग्रीको साथ आक्रमण बढाएको सजिलै बुझ्न सकिन्छ। सबैलाई चेतना भया।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *