धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट

डिसी नेपाल
१० वैशाख २०८१ २०:०४
36
Shares

बरहथवा। घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा आज तीनवटा पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ।

आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुईवटा पसल जलेको छ। त्यसैगरि मिश्रीलाल ठाकुरको हावा भर्ने पसल पनि पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ।

साहकै निर्माणाधीन घरमा बालेको धूपबाट सल्किएको आगोले उनकै औषधि पसल र जुत्ता–चप्पल पसलमा आगो लागेको स्थानीयको भनाइ छ।

आगोले निर्माणाधीन घरमा क्षति पुगेको छ। साहको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छत ढलानको तयारीका लागि पूजा गरिएको थियो। पूजामा धूप बालेर ढलान गर्ने कामदारहरू खाना गएको बेला आगो सल्किएको हो।

आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

स्थानीय, प्रहरी र हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो निभाइएको थियो। समयमै आगो निभाउन सकिएकोले थप क्षति हुन नपाएको स्थानीयको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *