किन्ताङफेदीमा बेली ब्रिज निर्माण
धादिङ। सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका-४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ। उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ।
उत्तरी धादिङको तीन गाउपालिकालाई प्रत्यक्ष लाभ पुर्याउने पुलको आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा उद्घाटन गरे।
खनियाँबास-४ र नेत्रावती डबजोङ गाउँपालिका-१ जोड्ने किन्ताङखोलामा बनेको उक्त पुल ४२ दशमलव ६७ मिटर लामो र चार दशमलव दुई मिटर चौडा रहेको छ। नेपाली सेनाको प्राविधिक सहयोगमा सो पुल निर्माण सम्पन्न भएको हो।

वर्षाको समयमा पानी बढेपछि खोला तर्न नसक्दा उत्तरी धादिङका स्थानीयलाई सदरमुकामबाट दैनिक उपभोग्य सामान लैजानसमेत कठिनाइ थियो । बिरामी पर्दा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उनीहरु अब त्यो बाध्यताबाट मुक्त भएका छन् । उत्तरी धादिङलाई जोड्न अझै दुई पुल बनाउन आग्रह गरिएको सांसद अधिकारीले बताए ।
कूल एक करोड १० लाखको लागतमा सो पुल निर्माण गरिएको हो । पुल निर्माणकोे खर्च सुरुमा खनियाँबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँपालिका, गङ्गाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।
धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबैँसी जोड्ने यो नै मुख्य मार्ग भएकाले पुल निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने उनको भनाइ छ ।

ट्रयाक खोलिएको झन्डै चार दशकपछि पुल निर्माण हुँदा उत्तरी क्षेत्रका स्थानीय खुसी छन्। “पुल बनेपछि हामीलाई घरकै ढोका खुलेकोजस्तै अनुभव भइरहेको छ”, स्थानीय प्रकाश तामाङले भने,“सडक भएर पनि पुल नहुँदा घन्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य थियौँ । कृषिजन्य उत्पादन गाउँमा हरेक वर्ष कुहिएर जान्थ्यो । अब कृषिजन्य उत्पादन गाडीमा बजारसम्म लगेर बिक्री गर्ने र घर खर्च चलाउने, चाडपर्व मनाउने धोको पूरा हुने भएको छ ।”
नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्रि ए र थ्रि बिको स्वामित्वमा रहेको बेली ब्रिज बेत्रावतीबाट ल्याएर किन्ताङफेदीमा जडान गरिएको हो। गत असोज १२ गते शिलान्यास भएसँगै नेपाली सेनाको १४ नम्बर बाहिनीअड्डाको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment