सांसद सुनिल शर्माको नेतृत्वमा मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, २१ सयले लिए सेवा
हुम्ला। मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन्।
काठमाडौं मेडिकल कलेज, सिनामंगलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा बुधबार गमगढीमा सो शिविरको आयोजना गरिएका हो।
सो शिविरमा नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्माको नेतृत्वमा सो अस्पतालका २५ जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी उपचारमा सहभागी भएका थिए।
सो टोलीले हिजोमात्र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका एक हजार आठ सय जनालाई उपचार सेवा दिएको थियो। त्यसैगरी सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।
गमगढीमा आयोजित सो शिविरमा मुटु रोग, बाथरोग, न्यूरोसम्बन्धी समस्या, पाठेघरको समस्या, दम, हाडजोर्नी, निमोनियालगातका रोगको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको सांसद डा शर्माले जानकारी दिए।
यसरी स्वास्थ्य जाँच गरिएका बिरामीमध्ये ९७ जनामा गम्भीर प्रकृतिको रोग देखिएको र उनीहरुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुलाई काठमाडौँ रेफर गरिएको डा शर्माले बताए।
सामान्य रोग देखिएका र यहीँ सम्भव हुने नागरिकलाई यही शिविरबाटै उपचार दिने र गम्भीर रोग देखिएका या आशंका लागेकालाई बाटोखर्च समेत दिई काठमाडौँ बोलाइएको र सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया तथा थप उपचार गरिने पनि डा शर्माले बताए।
उनले सुलभरुपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका हुम्लालगायत कर्णाली र सुदुरश्चिमका स्थानमा पुगेर निःशुल्क सेवा दिने उद्देश्यले यही वैशाख १३ गतेदेखि कर्णालीका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर राखेर उपचार दिइएको जानकारी दिए।
–––
No ads found for this position

डिसी नेपाल
Facebook Comment