लागू पदार्थ दुर्व्यसनविरुद्ध जनसचेतना कार्यक्रम

डिसी नेपाल
२१ वैशाख २०८१ ७:४४
260
Shares

काठमाडौं। युवाहरुमा बढ्दो लागूऔषध प्रयोग र यसको निवारणका निमित्त काठमाडौंको बागबजारस्थित शहिदशुक्र माध्यमिक विद्यालयमा बिहीबार सचेतना कार्यक्रम आयोजना गरिएको छ।

तारकेश्वर-१ मा रहेको नमोबुद्ध ड्रग एन्ड अल्कोहल ट्रिटमेन्ट एन्ड रिहाब्लिटेसन सेन्टर र महाँकाल बागबजार क्लबको सहआयोजनामा विद्यार्थी र स्थानीय युवाहरुलाई लागू पदार्थ दुर्व्यसनविरुद्ध जनसचेतना स्वरुप लागूऔषधले मानसिक, शारीरिक तथा सामाजिक कुराहरुमा ल्याउने हलचलबारे प्रकाश पारिएको थियो।

लागूपदार्थ दुर्व्यसन कुनै गाउँ, टोलको समस्या नभइ राष्ट्रकै समस्या भएको र यसको उपचार सम्भव रहेको रिहाब्लिटेसनका परामर्शदाता तथा सञ्चालक ओमकारविक्रम कुँवरले बताए।

उनले भने, ‘बालबालिकामा कुनै पनि किसिमको कुलत हुनु अगाडि नै त्यसको असरबारे जानकारी होस् भन्ने हाम्रो प्रयास हो।’ उक्त कार्यक्रममा सञ्चालक कुँवर र रिहाब्लिटेसनका निर्देशक निशान देउलाले लागू पदार्थ दुर्व्यसनमा कसरी फसिन्छ र त्यसको उपचारका रुपमा मनोपरामर्श, आफ्नै मनोबल र परिवारको साथ आवश्यक रहने कुरा उल्लेख गरेका थिए।

सोही कार्यक्रममा लागू औषधको सेवनले निम्त्याउने दुष्परिणामबारेको लघु चलचित्र पनि देखाइएको थियो। तारकेश्वरमा रहेको उक्त नमोबुद्ध रिहाब्लिटेसन २०७५ सालमा स्थापना भएको हो संस्थामा हाल करिब ७० जना पुनःस्थापना कार्यक्रममा सहभागी छन् भने संस्थाले दुर्व्यसनमा फसेका ८५० को सफल उपचार गराइसकेको छ।

संस्थाले हालसम्म काठमाडौं, ललितपुर, नुवाकोट र चितवनका विभिन्न स्कुलहरुमा लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ र आगामी दिनमा यसलाई थप विस्तार गरिने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *