सबैलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

डिसी नेपाल
२१ वैशाख २०८१ १२:४७
48
Shares

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीहरुको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सबै पक्षलाई आग्रह  गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मी तथा जिम्मेवार निकायबाट हुने दुर्व्यवहार र हतोत्साहित गर्ने कार्य  कानुनी शासन, लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यता विपरीत रहेको उल्लेख गरेका छन्। उनले एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा गत वर्षभन्दा यस वर्ष बढी सञ्चारकर्मीहरू पीडित हुन पुगेको अवस्थाप्रति आयोग चिन्ता व्यक्त गर्दछ । नेपाल पत्रकार महासंघका अनुसार पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन्। ’

आयोगले जस्तोसुकै संकटको अवस्थामा पनि चुनौतीहरूको सामना गर्दै सूचनाको हकका लागि अहोरात्र कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरू भौतिक रूपमा असुरक्षित भएको, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लागेको र समाचार लेखेकै आधारमा सञ्चारकर्मीहरू पक्राउ पर्ने गरेकोप्रति चिन्ता प्रकट गरेको छ।

साथै, सञ्चारकर्मीहरूप्रति असहिष्णु व्यवहार हुने गरेको, सञ्चारकर्मीहरूको कार्यप्रति प्रश्न खडा गरिएको, समाचार सङ्कलनका लागि स्थलगत रूपमा खटिँदा सञ्चारकर्मीलाई हतोत्साहित गरिएको तथा सामाजिक सञ्जालमा लेखेको आधारमा विभेदपूर्ण रूपमा साइबर अपराधमा मुद्दा चलाउने गरिएको जस्ता सूचनाहरू आयोगमा प्राप्त भएको पनि जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *