अनुदानको प्रतीक्षामा बाँकेका किसान
फाइल फाेटाे।
बाँके। नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको भीड लाग्ने गरेको छ । ज्ञान केन्द्रले आह्वान गरेको सूचनाका आधारमा कृषि अनुदानका लागि प्रस्तावना दर्ता गरेका नौ सय बढी किसान अनुदानको आशमा दैनिक केन्द्रमा आउने गरेका छन् ।
“सिँचाइ अभावले खेतीमा समस्या व्यहोर्दै आएका किसान अनुदानको पर्खाइमा छौँ, नेपालगञ्ज–२२ का अगुवा किसान चक्र बुढामगरले भने, “ज्ञान केन्द्रले सिँचाइका लागि ‘डिपबोरिङ’मा अनुदान दिने भएपछि आशा जागेको छ ।”
सिँचाइका लागि मोटर तथा डिपबोरिङका लागि सूचना आह्वान गर्दा धेरै किसानले प्रस्तावना दर्ता गरेका कारण वितरणमा चुनौती भएको ज्ञान केन्द्रका कृषिविज्ञ जीवनकुमार केसीले बताए ।
अन्न उत्पादनका निम्ति उर्वरभूमि बाँकेमा सिँचाइ अभावले धान, गहुँलगायत खेती वर्षामा निर्भर हुनुपर्ने भएकाले सिँचाइका लागि ठूलो सङ्ख्यामा किसानको आवेदन परेको उनले बताए । केन्द्रले यस वर्ष रु एक करोड ५० लाख अनुदान दिने तयारी गरेको छ ।
करिब एक सय किसानलाई रु एक लाख ५० हजारका दरले मोटर तथा डिपबोरिङका लागि अनुदान दिने योजना बनाए पनि ठूलो सङ्ख्यामा प्रस्ताव पेस भएकाले अनुदान रकम घटाएर वितरण गरिने कृषिविज्ञ केसीले जानकारी दिए ।
“प्रस्तावअनुसार फिल्ड हेर्दा ‘क्लस्टर’ नमिलेको, दोहोरो अनुदानमा संलग्न भएकालाई हटाउँदा पनि अझै पाँच सय किसानका प्रस्ताव बाँकी छन्”, उनले भने, “अब कृषक समूह र सहकारीलाई रु एक लाख ५० हजार र व्यक्तिगत रूपमा प्रस्ताव पेस गरेका किसानलाई रु ५० हजारका दरले अनुदान दिनेगरी सम्झौता गरिरहेका छौँ ।” सरकारले कृषिप्रति आकर्षण बढाउन तथा उत्पादन वृद्धिको उद्देश्यले किसानलाई अनुदान दिँदै आएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment