अवैध बाटोबाट अमेरिका जान खोजेका १५ जना केन्यामा बन्धक, ७ करोड असुल्ने गिरोह काठमाडौंमा पक्राउ

डिसी नेपाल
२८ वैशाख २०८१ १३:३२
112
Shares

काठमाडाैं। प्रहरीले अवैध बाटो प्रयोग गरी अमेरिका तथा क्यानडा पुर्‍याउने भन्दै विभिन्न व्यक्तिहरुबाट ५ करोड ५० लाख रकम ठगी गर्ने गिरोहलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पा रहेका छन्।

ङिमवुटी शेर्पाले आफ्नो श्रीमान् दावा शेर्पा तथा टासी शेर्पाले आफ्नो छोरोलाई अवैध बाटो प्रयोग गरी अमेरिका पठाएको र अरुलाई पनि पठाउने भन्दै प्रलोभन देखाउने गरेको अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

सिन्धुपाल्चोक घर भएका अरूण तामाङ समेत १० जनाबाट ठगी सम्बन्धी कसूर समेतमा जाहेरी दरखास्त आएपछि अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

यसैगरी प्रहरीले स्रोत नखुलेको अन्ठानब्बे लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको मालिगाउँ क्षेत्रबाट स्रोत नखुलेको अन्ठानब्बे लाख रकम सहित रुपन्देही घर भएका समिर सुनार र मिलन बिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

सो स्थानमा हुण्डी सम्बन्धी कारोबार भइरहेको छ भन्ने गोप्य सूचना आधारमा थप अनुसन्धान गर्दा बा. १३ च. ४८५८ नम्बरको निजी कारबाट सो रकम बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  भट्टराईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *