कविता : रोटी

शंकरप्रसाद रिजाल
५ जेठ २०८१ ६:५१
72
Shares

गरिबको मुखमा हेर सधैं रोटीको क्रन्दन
हात जोडी चरणमा बसेका छन् दिन्दिन
रोटी गरिबले खाने धनीको भुईंमा बसी
कसैले फ्याँकेको खाइ झन् गरिबबाट खसी।

धनी दुधमा चोपी रोटी खाने दिन दिन
गरिब पानीमा चोपी खाने रोटी हरदिन
सारा जीवन बितेको छ रोटीको छाक पेटमा
लोभको मोह बढ्दो छ सारा यो नव विश्वमा।

लिने दिने सबैकाम रोटीकै चाहमा चली
बितेका छन् सबै जीवन झन् झनै अघिसरी
रोटी यसको मोल विश्वमा छ कति कति
घोटी श्रमको झोल खाएका छन् पेटभरी।

रोटीको मोहमा फस्दै सारा विश्व उठेर
यही रोटीमा डुब्दै छन् झन् गरीब रोएर
नचाउने धेरैछन् रोटीको चक्करमा परी
नाच्नेपनि नाचेका छन् यसैको लोभमा फसी।

बाल बच्चा बुढा सबै बस्छन् आफ्नो बोझमा
भोकको प्यासमा हुन्छन् “एक”उही रोटीमा
रोटी रोटी भनी हिँड्ने हिँडेका छन् सबैतिर
थाहै नपाइ लुकी हाल्छ यो रोटी कतैतिर।

भोकमा निधारको टीका रोटीजस्तै त्यो झल्किने
रोएको अनुहारको गाला रोटी जस्तै यो भेटिने
ठूलो होटलमा बस्दै धनी रोटी चपाउने
कोठीको झ्यालमा बस्दै उही आँखा लडाउने।

तावाको रोटीमा हेर आनन्द कति आउने
भुईंको रोटीमा हेर सधैं गरीब रमाउने
चन्द्रमा पनि देखिन्छ राति आकास साँझमा
भोकले त्यो पनि देखिन्छ रोटी झैं आकासमा।

हेर त्यो रोटीको शान खाइ सबै अघाउने
यसको प्रेमको माया मनैदेखि रुवाउने
सुखको मेलमा हेर रोटीको महिमा अति
दुःखको भेलमा हेर रोटीकै गरिमा कति।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *