गायक प्रचण्डबाबु राईको ‘यो मायाले के गर्यो के गर्यो’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत ‘यो मायाले के गर्यो के गर्यो’ सार्वजनिक भएको छ। प्रेमभावको यो गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेकाे छ भने गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन्।
शनिबार काठमाडौंमा आयोजित समारोहमा गायक यम बराल, संगीतकारहरु सुरेश अधिकारी, गणेश पराजुली, वसन्त सापकोटा लगायतले गीतको विमोचन गरे।
गीतको भिडियो सार्वजनिकपछि बोल्दै गायक यम बरालले गायकी र भिडियो मेकिङको प्रशंसा गरे । ‘प्रेम प्राप्तिपछिको वियोग भावको गीत मर्मस्पर्शी छ । भिडियोले गीतको भावलाई चरितार्थ गर्ने प्रयास गरेको छ,’ उनले भने ।
संगीतकार सुरेश अधिकारीले सुगम संगीतमा आधारित गीतको शब्द, संगीत, गायकी र भिडियो राम्रो रहेको बताए । ‘गायक प्रचण्डबाबुको गायकी पनि मनपर्यो, भिडियो पनि राम्रो बनेको रहेछ, शुभकामना छ,’ उनले भने ।
संगीतकार वसन्त सापकोटाले आफूले केही वर्षअघि लेखेको शब्दमा संगीत भरेर गायक प्रचण्डबाबुसँग सहकार्य गर्दा यसले जीवन पाएको महसुस भएको बताए ।
गायक प्रचण्डबाबु राईले आफू अनौपचारिक रुपमा करिब दुई दशकदेखि संगीतमा लागेको भएपनि अढाई वर्षअघि मात्रै पहिलो गीत गर्ने अवसर पाएको बताए ।
‘अब सकेसम्म संगीतमा केही गर्ने सोच बनाएको छु । म रहरले होइन, प्यासनले नै संगीतमा लागेको हुँ,’ उनले भने,’यो नयाँ गीतको अडियो र भिडियो दुवैमा निकै मेहनत गरेका छौं । आशा छ यसले मेरो सांगीतिक करिअरमा केही न केही योगदान दिनेछ ।’
निर्देशक निकेश खड्काले उक्त गीतको भिडियो निर्माण प्रक्रियाबारे सुनाएका थिए । भिडियोमा स्मारिका ढकाल, नमराज नेपाल र प्रेम राईले अभिनय गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन रहेको छ।
उनले रचना रिमालसँग गाएको ‘दिल खोलेर कुरा गर न’ गीतलाई श्रोता-दर्शकले निकै रुचाएका थिए । उनको केही महिनाअघि ‘तिम्रै याद आउँछ’ र त्यसअघि ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ लगायत गीत सार्वजनिक भएका थिए । ‘यो मायाले के गर्यो के गर्यो’लाई ‘वसन्त सापकोटा’ युट्युब च्यानलमा रिलिज गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment