बागलुङको ताराखोलामा असारे मेलाको रमझम

रामबहादुर थापा/रासस
३० असार २०८१ २१:५३
336
Shares

बागलुङ। मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ। बर्सेनि असारको तेस्रो मंगलबारदेखि यहाँ ‘असारे’ मेलाको छुट्टै रौनक चल्छ । ‘असारे’ त्यहाँ बसोबास गर्ने तरामीमगरको पुस्तैनी मेला हो। रैथाने मेला असारेलाई खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देवीदेवता पूज्ने पर्वका रुपमा लिइन्छ।

मेला आयोजक असारे युवा क्लबका अध्यक्ष ओमबहादुर रोकाले असारे मेलाका अवसरमा विविध सांस्कृतिक कार्यक्रम र खेल प्रतियोगिता राखिएको जानकारी दिए। मौलिक गीतनाच र झाँकी मेलाका विशेष आकर्षण हुन् । मेलामा पुरुष तथा महिला भलिबल, प्रौढ पुरुष भलिबल, धनुषवाण, स्लो बाइक रेस, भाले छुने, रस्साकस्सी, छेलो, सामूहिक नृत्यलगायतका प्रतियोगिता सञ्चालन भइरहेको क्लबले जनाएको छ।

नयाँ पुस्ताले ‘असारे मेला’का रुपमा संस्कृतिको जगेर्ना गरेपनि जनबोलीमा भने ‘असारे’ भनेर प्रचलित रहेको अध्यक्ष रोकाले बताए। बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे बस्ने गरिएको मगर समुदायका बूढापाका बताउँछन्। आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ सुरु भएको विश्वास गरिन्छ । संस्कृतिकर्मी झकबहादुर घर्तीका अनुसार डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेका थिए।

असारको उजेली पक्ष पारेर असार मनाउने परम्परा रहेको घर्तीको भनाइ छ । मेलाका अवसरमा पूजाआजासहित बली पनि चढाउने गरिन्छ। अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट मंगलबार (असारेको पहिलो दिन) बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन छ। असारेलाई साँचेर कुल घरमा राखिएको जमरालाई त्यही पिङ चढाउने र बाचा बाँध्ने गरिएको संस्कृतिकर्मी घर्तीले बताए। यसपालिको असारे मेला सोमबारसम्म चल्ने क्लबका अध्यक्ष रोकाले बताए।

भलिबलको फाइनल स्पर्धासहित समापन समारोह आयोजना गरी यस वर्षको असारेलाई बिदाइ गरिने उनले सुनाए। गाउँलेले उक्त मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन्। असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ। वर्षात्मा बाढीपहिराजस्ता प्रकोप नहोस्, रोगव्यादी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृति पूज्ने चलन रहेको संस्कृतिकर्मी घर्तीले बताए। मुखियाको घर ९हेम्थो घर०को बारीमा रहेको थानमा राँगाको बली दिने गरिएको उनको भनाइ छ।

“पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुङ्गामा बली चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ”, उनले भने। विसं १७६६÷०६७ तिर डोल्पाबाट बसाइँ सरेर आएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका–४ र ५ मा असारे विशेष रुपमा मनाइन्छ। बली र पूजापाठ वडा नं ४ को तारागाउँमा हुने गरेपनि मेला भने ५ को करिमेलामा चल्छ । असारेलाई ताराखोलावासीले आफ्नो मौलिक संस्कृति मान्छन्।

बर्खे झरीकोसमेत पर्वाह नगरी मानिसहरु हर्षोल्लासपूर्वक असारेमा रमाउँछन्। तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा साँस्कृतिक कार्यक्रम तथा खेलकुदको आयोजना हुने क्लबले जनाएको छ।

तीन सय वर्षअघिदेखि असारेको थिती बसेको स्थानीयवासीको विश्वास छ। असारे ताराखोलाको ऐतिहासिक र साँस्कृतिक महत्वको मेला भएको ताराखोला गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्तीले बताए। मेलामा युवायुवती पिङ खेल्ने, मिठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन्।

खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमासमेत असारे मेलालाई लिइन्छ। पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ । धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो। मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन्।

ताराखोला गाउँपालिका–२ अर्गल, वडा नं। ३ हिल, वडा नं। १ अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला आयोजना गर्ने गरिएको छ। हिलमा साउने सङ्क्रान्तिमा मेला लाग्छ। पाल्पाको अर्गली र डोल्पाको ताराभोटबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले ताराखोलाका विभिन्न गाउँमा गाउँमा मेलापर्वको चलन बसालेका हुन्। भदौरे सिस्नो खोस्ने पर्व, कात्तिकको भुस पोल्ने पर्व, माघे सङ्क्रान्ति, श्रीपञ्चमीलगायत पर्वलाई ताराखोलाका मगर समुदायले विशेष रुपमा मान्दै आएको छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *