पेरिस ओलम्पिक- २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
काठमाडाैं। पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित भएका छन्।
फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज बिहान सम्पन्न भएको समूह ‘पी’को खेलमा विश्व वरियताको ४३औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१-७ र २१-५ को सोझो सेटमा पराजित गरे।
गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो। पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चेका थिए।
प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा छ र दोस्रो सेटमा चार अंक जोडेका थिए। आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए। गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिता हो। उनले टोकियो ओलम्पिक २०२० मा पनि खेलेका थिए।
विश्व वरियतामा एक सय ७२औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो। समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरियताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१-८ र २१-६ को सोझो सेटमा पराजित भएका थिए।
समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औं विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानसँग भोलि प्रतिस्पर्धा गर्नेछन्। कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित चार खेलाडी छन्।
ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment