सुदूरपश्चिममा डेंगु संक्रमितको संख्या बढ्दै
कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमितको संख्या दुई सय ६४ पुगेको छ। स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५ जनामा डेंगुको संक्रमण देखिएको छ।
कञ्चनपुरमा ३९, दार्चुलामा २०, बाजुरामा १७, बैतडीमा आठ, डडेल्धुरामा नौ र बझाङमा पाँच जनामा डेंगुको संक्रमण देखिएको सम्पर्क व्यक्ति जोशीले जानकारी दिए।
उनका अनुसार जनवरीमा १३, फेब्रुअरिमा २४, मार्चमा ३८, अप्रिलमा ३४, मेमा २५, जुनमा ५२, जुलाईमा ५४ र अगष्टको हालसम्ममा २४ जनामा डेंगुको संक्रमण देखिएको छ। डेंगुको संक्रमणबाट भने हालसम्म सुदूरपश्चिमका कुनै पनि जिल्लामा कसैको मृत्यु भने नभएको उनको भनाइ छ। एडिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्दछ।
‘जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रम बढ्दा तराई क्षेत्रमा मात्रै पाइने लामखुट्टे पहाडी र उच्च हिमाली जिल्लामा पनि पाइन थालेपछि डेंगु लगायतका किटजन्य रोगको संक्रमण बढ्न थालेको छ’, उनले भने, ‘डेंगु चुनौतीका रुपमा देखापर्न थालेको छ, पछिल्लो तथ्यांक असार महिनाबाट डेंगुका बिरामीको संख्या बढ्दै गएर साउन, भदौ, असोज महिनासम्म उच्च हुने गरेका छन्।’
क्रमशः चिसो बढ्दै गएपछि डेंगुका बिरामीको संख्यामा पनि कमी हुँदै जाने गरेको देखिएको उनले उल्लेख गरे। डेंगुबाट बच्नका लागि पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामुखुट्टे नछिर्ने जाली लगाउने, घरवरिपरि पानी जन्म नदिने, गमला, प्लेट, फुलदानी, कुलर आदिको पानी हप्तामा एक पटक फेर्नुपर्ने हुन्छ।
यसैगरी, पानी जम्मा हुने भाँडोलाई लामुखट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर पूरै सावधानी अपनाउनुपर्ने हुन्छ। डेंगु सार्ने लामखुट्टेले विशेषगरी दिउँसो बढी सक्रियभै टोक्ने भएकाले सावधानी अपनाउनुपर्ने जोशीले बताए।
डेंगुको संक्रमण भएमा एक्कासी ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने र वान्ता हुने, दैनिक खानपान वा अन्य काम कुरामा रुची नलाग्ने हुन्छ। यी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि जानुपर्दछ। डेंगुको संक्रमण रोकथामका लागि प्रदेशका विभिन्न जिल्लाका पालिकामा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment