नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै नेवार समुदायका अगुवा

डिसी नेपाल
३२ साउन २०८१ १०:४१
168
Shares

नवलपरासी। बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ। यहाँका अगुवाले तालिम सञ्चालन समुदायको संस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन्।

सीका नेवाः गुठी अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार गुठीले बालबालिका र युवालाई कला, संस्कृति जगेर्ना गर्न लाखे नाच, धिमेबाजा, मादल र झ्याली संरक्षण अभियान सुरु गरेकोे हो। लाखेनाच, धिमेबाजा नेवार समुदायको परम्परागत सांस्कृतिक महत्त्वसँग जोडिएको तर नयाँ पुस्ताले आधुनिकतासँगै यो बिर्सने थालेकाले संरक्षण अभियान थालिएको हो।

सीका नेवाः गुठीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि गत वर्ष पनि ४५ दिनको धिमे बाजा प्रशिक्षण सञ्चालन गरेको थियो। गत वर्षको प्रशिक्षणले सकारात्मक प्रभाव पारेपछि यस वर्ष पनि लाखे नाचसहितको प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। “गाईजात्रामा बजाउनुपर्ने धिमेबाजा, मादल, झ्याली र ढलकीको व्यावहारिक तािलम नयाँ पुस्तालाई दिइरहेका छौँ, पुरानो पुस्ताको सीप पनि क्रमशः हस्तन्तरण गर्दैछौँ”, उनले भने।

बालबालिकालाई वाद्यवादन सीप र परम्परागत नाच सिकाउँदा उनीहरूले छिटो सिक्ने हुँदा नयाँ पुस्तामार्फत परम्परा संरक्षण अभियान थालिएको गुठीका सल्लाहकार झकनारायण श्रेष्ठले बताए। नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *