बाँकेमा उद्धार गरियो रातो ‘कोरल रेड कुक्री’ प्रजातिको सर्प
बाँके। बाँकेमा नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरिएको छ। बाँके राष्ट्रिय निकुञ्जको टोलीले राप्तीसोनारी गाउँपालिका–८ पेरानीस्थित एक विद्यालयको कक्षाकोठाबाट ‘कोरल रेड कुक्री’ प्रजातिको सर्पलाई उद्धार गरेको हो।
निकुञ्जका रेन्जर यामबहादुर रावतकानुसार यस प्रजातिको सर्प भारत र नेपालका केही स्थानमा मात्र पाइने गरेको छ। दुर्लभ नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको उनले जानकारी दिए। ‘नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको सर्प पाइएको छ। बाँकेमा दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र रातो सर्प पाइएको थियो’, उनले भने।
झट्ट हेर्दा यस सर्पको टाउको र घाँटी छुट्टिएको स्पष्ट देखिँदैन। यो अन्य सर्पभन्दा कमै मात्रामा पाइने मन्द विषालु सर्पको प्रजातिमा पर्दछ। उद्धार गरेर ल्याइएका सर्पहरूलाई निकुञ्जको जंगल क्षेत्रभित्र लगेर व्यवस्थापन गर्दै आएको रेन्जर राउतले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment