रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
काठमाडौं। सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ।
त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्याएकाे छ। बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ। रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए।
बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन्। बाढीबाट क्षति भएसँगै नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ।
बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पुर्याएकाे छ। प्रभावित स्थान थ्री पास जाने मार्गमा रहेको पर्यटकीय क्षेत्र हो। त्यसक्षेत्रमा चौँरीपालन र होटल व्यवसाय हुँदै आएको छ।
राष्ट्रियसभा संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बस्ती भएको जानकारी दिए।
उनले भने, ‘त्यो सगरमाथा आरोहण गर्ने बाटोभन्दा केही टाढाको दूरीमा छ। प्रभावित क्षेत्रको विद्युत् गृहमा क्षति पुगेकाले अहिले बिजुली नहुँदा दूरसञ्चार सेवा प्रवाहमा असर परेको छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment