तनहुँमा डेंगी संक्रमित एक हजार नाघे

डिसी नेपाल
१ भदौ २०८१ १९:०४
8
Shares

दमौली। तनहुँमा डेंगी संक्रमितको संख्या एक हजार नाघेको छ। यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले पछिल्लो दुई दिनमा मात्रै यहाँ एक सय आठजनामा संक्रमण देखिएको र कुल संक्रमितमध्ये आठ सय १३ जना आँबुखैरेनी गाउँपालिकामा रहेका जानकारी दिए। यस्तै व्यास नगरपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा एक सय २०, भिमाद नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा सात र बन्दीपुर गाउँपालिकामा ५१ जनामा डेंगी संक्रमण पुष्टि भएको उनले बताए।

डेंगी संक्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएको छ। आँबुखैरेनी गाउँपालिका–३ का विभिन्न टोलमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजी गरी नष्ट गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले डेंगी संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरे। यहाँ आँबुखैरेनी अस्पतालले लक्षित वर्गलाई डेंगी संक्रमणमा निःशुल्क उपचार गर्ने निर्णय गरेकाले समयमै स्वास्थ्य परीक्षण गराउन पनि उनले आग्रह गरे। ‘गरिब तथा आर्थिक रूपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपांगता, सहाराविहीन अशक्त एवं अपांगता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा व्यहोरिने निर्णय भएको छ’, अध्यक्ष चुमानले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *