हरितालिका तीज भारतमा नेपाली साँस्कृतिक पहिचानको रुपमा स्थापित हुँदै : स्वामी रामदेव

सुबास बस्नेत
२३ भदौ २०८१ १४:१२
360
Shares

नयाँदिल्ली। हरितालिका तीज भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथिको दिनमा मनाइन्छ। धार्मिक मान्यता अनुसार यस तिथिमा माता पार्वतीले भगवान शिवलाई श्रीमानको रुपमा प्राप्त गर्न कठोर तपस्या गरेको जनविश्वास छ।

माता पार्वतीको यो तपस्या देखेर भगवान शिवले उनलाई दर्शन दिए र माता पार्वतीको दीर्घइच्छा अनुरुप उनलाई अर्धांगिनीको रूपमा स्वीकार गरे। त्यसैबेलादेखि अबिवाहित नारीले आफूले मनपर्ने श्रीमान पाउन र बिवाहित महिलाहरुले आफ्नो श्रीमानको दीर्घायुको कामनाको लागि हरितालिका तीजको व्रत बस्ने मान्यता छ। यस व्रतमा महिलाहरूले नयाँ लुगा लगाउने, सोह्र श्रृंगार गर्ने तथा भगवान शिव र माता पार्वतीको पूजा-अर्चना गर्ने गर्दछन्।

हिन्दू नारीहरुको आस्था एवं श्रद्धाको महान पर्व हरितालिका तीज कार्यक्रमलाई नेपाली भाषि गोर्खाली समुदायको साँस्कृतिक पहिचान बनाउने सामाजिक उदेश्यका साथ हाम्रो स्वाभिमान ट्रष्ट पतंजलि हरिद्वारले बिहीबार बिहानदेखि बेलुकी ६ बजेसम्म नयाँ दिल्लीको आइटिओस्थित इन्दिरा गान्धी स्टेडियममा हरितालिका तीज महोत्सव २०२४ को सफल आयोजना सम्पन्न गरेको छ।

स्वामी रामदेव जी महाराज एवम् आचार्यश्री बालकृष्ण जी महाराजको पावन सनिध्यमा आयोजित उक्त कार्यक्रमका बागेश्वर धाम सरकार पण्डित धिरेन्द्र शास्त्री जी मुख्य अतिथि थिए।

कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लोकप्रिय कलाकार मिलन लामा र मेलिना राई तथा स्थानीय कलाकारहरुको अभूतपूर्व सांगीतिक एवं सांस्कृतिक प्रस्तुति रहेको थियो। संसारकै ठूलो इन्डोर तीजको कार्यक्रमको रुपमा लिइएको “हरितालिका तीज महोत्सव २०२४” लाई नयाँ दिल्ली आइटिओस्थित इन्दिरा गान्धी स्टेडियममा दिल्ली एनसीआरमा रहेका करिब २५ हजार नेपालीभाषि दर्शकहरुद्वारा बिशेष हर्षोल्लासका साथ भब्य रुपमा मनाइएको छ। कार्यक्रममा नेपालीभाषीका लागि निःशुल्क प्रवेश रहेको थियो।

इंदिरा गान्धी इंडोर स्टेडियममा हाम्रो स्वाभिमान न्यास पतंजलिद्वारा आयोजित हरितालिका तीजको कार्यक्रममा बोल्दै संस्थाका मुख्य संरक्षक स्वामी रामदेव जी महाराजले धर्म, संस्कृति र संस्कार जागृतिमा बिशेष बिशेष जोड दिँदै भने, “अहिलेको बदलिदो परिवेशमा, प्रतिस्पर्धी विश्वमा पतञ्जलि राष्ट्र निर्माणको अभियानमा जुटेको छ र यो कार्य धर्म, संस्कृति र अध्यात्मको बिना सम्भव छैन। नेपाली भाषा केवल नेपालको मात्र भाषा होइन तथापि भारतको पनि राष्ट्रिय भाषा हो, यसप्रति हामी सबैलाई गर्व छ र यसै गर्वको अनुभुतिको अभिब्यक्त स्वरुप हो हरितालिका तीजको राष्ट्रिय स्तरको आयोजना।”

हाम्रो स्वाभिमान ट्रष्ट देशभरका नेपाली गोर्खाली समुदायको एकमात्र अभिभावक संस्था हो जसले नेपालीभाषि समुदायमा स्वाभिमान जागृत गराउँदै भाषा, कला, संस्कृति संरक्षण तथा प्रचार-प्रसारका लागि पछिल्लो एक दशक देखि अभुतपूर्व कार्यहरु गर्दै आइरहेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित पूज्य बागेश्वर धाम सरकारले नेपाली गोर्खाली समुदाय तथा संस्कृतिको प्रशंसा गर्दै भने, ‘पुरै बिश्वको सबैभन्दा इमानदार एवम् मेहेनति नेपाली जाति कुनै कार्य गर्न होस् या मनोरञ्जन गर्न होस् पुरै तन्मयका साथ गर्ने गर्दछन्।’

संस्थाका संस्थापक अध्यक्ष आचार्य बालकृष्णजी महाराजले सामाजिक सद्भावना सन्तुलित गराउन यस किसिमको राष्ट्रिय आयोजनाको आवस्यकता रहेको बताउँदै भारत देश निर्माणमा नेपाली गोर्खाली समाजको त्याग, बलिदान र योगदानको ध्यानाकर्षण गराए।

साथै कार्यक्रममा बिशिष्ट अतिथिको रूपमा उपस्थित, दार्जिलिंग बाट युवा सांसद राजू बिष्टले गोर्खाली पहिचान, गोर्खाली संस्कृति र गोर्खा गौरवको कुरा उठाउँदै गोर्खाको सपना गोर्खाल्यान्ड चाँडै पुरा हुनेछ भने।

कार्यक्रममा भारतका लागि नेपाली कार्यवाहक राजदूत महामहिम ड. सुरेन्द्र थापाले सुभकामना मन्तव्य राख्दै स्वाभिमानको विशाल कार्यक्रम प्रति गर्व महसुस हुने बताए। देशका विभिन्न राज्यबाट प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा लगभग २५००० भन्दा बढि दर्शकको उपस्थिति रहेको थियो। भारत तथा नेपालबाट आएका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार मेलिना राई, मिलन थापा तथा गोविन्द पौडेलले सांगीतिक प्रस्तुतिमार्फत सम्पूर्ण दर्शकहरुलाई नेपाली लोकधुनमा झुम्न बाध्य बनाएका थिए।

हरितालिका तीज महोत्सवको अवसर पारेर यसै कार्यक्रममा हाम्रो स्वाभिमान ट्रस्ट पतञ्जलि योगपीठ हरिद्वारद्वारा प्रत्येक बर्ष देशभरका नेपाली/गोर्खाली समुदायबाट समाजका बिभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनु हुने ब्यक्तित्वलाई स्वामी रामदेव जी महाराज एवम् आचार्यश्री वालकृष्ण जी महाराजको बाहुलीबाट “हाम्रो गौरव अवार्ड” द्वारा सम्मानित गर्ने परम्परालाई कायम राख्दै यस बर्ष पनि समाज, अर्थ, ज्ञान, साहित्य, कला र शौर्य गरि ६ वटा बिधामा समाजका सफल ब्यक्तित्वहरुलाई “हाम्रो गौरव अवार्ड २०२४” प्रदान गरिएको छ।

शिव र पार्वतीको संवाद तथा विवाहको पौराणिक महत्व रहेको यस हरितालिका तीज पर्वलाई महोत्सवको रुपमा सफल पार्न सम्पूर्ण महिला कार्यकर्ताहरु दिनभर निर्जला उपवासमा रहेर पनि जिम्मेवारीका साथ कार्यक्रमको आयोजना तथा संचालन गर्नमा विशेष योगदान रहेको थियो।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यबाद दिदै आयोजक संस्था हाम्रो स्वाभिमान ट्रष्टका अन्तर्राष्ट्रिय संयोजक डाॅ. मोहन कार्की भने,  “वसुधैव कुटुंबकम्” भन्ने आशयका साथ हाम्रो स्वाभिमान ट्रष्टले राष्ट्रीय एकता, अखंडता तथा सामाजिक सद्भावनाका साथ जातिय स्वाभिमान जागरण गर्ने अभियानका लागि स्वामी जी महाराज तथा आचार्यश्री को नेतृत्वमा हामी सबै प्रतिबद्ध छौ र सालैभरि यस प्रकारका सामाजिक तथा साँस्कृतिक महत्वका कार्यक्रमहरुको आयोजना गर्दै हाम्रो संस्कृतिलाई संवर्धन तथा सामाजिक सौहार्दता बनाई राख्न एक अभियानको रूपमा प्रयास जारी रहने बताउनु भयो।

केन्द्रीय संस्कृति संयाेजक घनश्याम शर्मा एवम दिल्ली समिति अध्यक्ष रमेश बस्नेतको संयोजकत्वमा आयोजित युक्त कार्यक्रममा केंद्रीय संगठन मंत्री साध्वी देव अदिति, ट्रस्टी राहुल कुंवर, केंद्रीय खेल सचिव रतन मल्ल सहित सम्पूर्ण आयोजक समितिको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन केंद्रीय युवा प्रभारी वेद प्रकाश शर्मा तथा दिल्ली राज्य की संगठन सचिव अन्जु थापा र हेमराज बराईलीले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *