कानून व्यवसायी न्याय प्रज्वलन गर्ने अभियानकर्मी हुन् : प्रधानन्यायाधीश राणा

डिसी नेपाल
२७ साउन २०७६ २१:०२

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले कानून व्यवसायी न्याय प्रज्वलन गर्ने अभियानकर्मी भएको बताएका छन् । नेपाल कानून व्यवसायी परिषद्को रजत महोत्सव समापन समारोहमा उनले कानून व्यवसायी अदालतमा प्रतिनिधित्व गर्ने मात्र नभएर समाजमा न्याय प्रज्वलन गराउने अगुवासमेत भएको बताए।

“कानून व्यवसायीमा दक्षता, इमान्दारिता र लगनशीलता आवश्यक छ”, प्रधानन्यायाधीश राणाले भने, “कानून व्यवसायीको समृद्धिबाटै समग्र न्याय व्यवस्थाले पूर्णता प्राप्त गर्न सक्छ ।” उनले विभिन्न देशको अभ्यासलाई अध्ययन गर्दा बार र परिषद् मिलेर नेतृत्वदायी भूमिका रहेको देखिएकाले नेपालमा पनि त्यो अभ्यास प्रभावकारीरुपमा गर्नुपर्नेमा जोड दिए।

प्रधानन्यायाधीश राणाले न्यायको गरिमालाई बढाइराख्न कानून व्यवसायीको विकास र संस्थागत समृद्धि हुनु जरुरी रहेको र लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको न्यायपालिका र कानून व्यवसायीलाई सक्षम र व्यावसायिक बनाउँदै लैजानु आजको आवश्यकता भएको स्पष्ट पारे।

परिषद्ले कानूनी शिक्षाको स्तरीयता वृद्धि, नीतिगत र दूरगामी क्षेत्रमा केन्द्रित हुन आवश्यक रहेको उल्लेख गर्दै उनले कानून, व्यवसायीलाई आचारसंहिताको पालना गराउनेतर्फ परिषद्को प्रभावकारी भूमिका रहने बताए।

प्रधानन्यायाधीश राणाले भने, “कानून व्यवसायीलाई अनुशासित, व्यवस्थित र विश्वासयोग्य बनाउन सकिन्छ, यसले सेवाग्राही र आम नागरिकमा कानून व्यवसायी र न्यायप्रतिको आस्था र भरोसा बढाउन सहयोग पुग्दछ ।”

कार्यक्रममा प्रधानन्यायाधीश राणाले नेपालको न्याय क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै वरिष्ठ अधिवक्ता तथा परिषद्का पहिलो अध्यक्ष स्व मोतीकाजी स्थापितलाई मरणोपरान्त र वरिष्ठ अधिवक्ता तथा परिषद्का अध्यक्ष सर्वज्ञरत्न तुलाधरलाई अभिनन्दन गरेका थिए।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नागरिकलाई न्याय दिलाउने कानून व्यवसायीले इमान्दार र निष्ठाका साथ आचारसंहिताको पालना गरेर काम गर्नुपर्नेमा जोड दिए। पूर्वसभामुख सुवास नेम्बाङले नेपालको इतिहासमा निकै संघर्ष गरेर कानून व्यवसायी अहिलेको अवस्थासम्म आएको स्मरण गर्दैै बार काउन्सिलमा परीक्षा लिएर अधिवक्ता बन्नुपर्छ भन्ने कानून बनाउँदा निकै जटिलता आएको स्मरण गराए।

महान्यायाधिवक्ता तथा परिषद्का अध्यक्ष अग्नि खरेलले परिषद्ले कानूनको क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने कार्यको शुरुआत गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उल्लेख गरे। कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष तथा परिषद्का उपाध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले १८ हजारभन्दा बढी कानून व्यवसायीले न्यायको निष्ठालाई ध्यानका राखेर काम गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा परिषद्ले बार काउन्सिलको २६औँ परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको थियो । त्यस्तै यो वर्षमा उत्कृष्ट किताब ‘निर्वाचन कानूनः अभ्यास’ नामक पुस्तकका लेखक डा गोविन्द गौतमलाई रु १० हजारसहित पुरस्कृत गरिएको थियो । त्यस्तै परिषद्को स्थापनादेखि नै अनवरतरुपमा सेवा गरेका वरिष्ठ प्रशासकीय अधिकृत विदुरप्रसाद सापकोटालाई प्रशंसापत्र प्रदान गरेका थिए।

परिषद्ले वरिष्ठ अधिवक्ता तथा परिषद्का पहिलो अध्यक्ष स्वर्गीय स्थापित र वरिष्ठ अधिवक्ता तथा परिषद्का अध्यक्ष तुलाधरको कानूनी क्षेत्रको दिएको योगदानका विषयमा वृत्तचित्रसमेत प्रस्तुत गरेको थियो ।

कानून व्यवसायीको आचारसंहिता बनाउने र उल्लङ्घन गरे कारवाही गर्ने, कानून व्यवसायीको लगत राख्ने र कानून व्यवसायीका लागि परीक्षा लिने लगायतका काम गर्दै आएको परिषद्को स्थापना विसं २०५० मा भएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *