गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव

डिसी नेपाल
५ असोज २०८१ १९:४८
20
Shares

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सुधारका कार्यलाई तीव्रता दिएको बताएका छन्।

आज बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित ‘सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’को २२औँ वार्षिक साधारणसभामा उनले मधेस प्रदेशका विभिन्न क्षेत्रमा पानीको समस्या देखिएको र त्यसको दीर्घकालीन समाधानमा मन्त्रालय जुटेको उल्लेख गरे।

मन्त्री यादवले भने, ‘सफा, सुरक्षित, र गुणस्तरीय पानीको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार हो । मधेसमा पानीको अभावले ठूलो चुनौती खडा गरेको छ । हामीले दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउनुपर्छ भनेर काम गरिरहेका छौँ, यसमा सामुदायिक सहभागिता अपरिहार्य छ।’

उनले मधेसमा झन्डै ८० प्रतिशत घरधुरीमा चापाकल सुकेका कारण पानीको गम्भीर अभाव भएको उल्लेख गर्दै खानेपानी मन्त्रालयले समस्या समाधानका लागि समुदायसँग सहकार्य गर्दै सेवा विस्तार र मर्मतसम्भारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। ‘सुनकोसी–मरिन डाइभर्सन परियोजनामार्फत मधेसको पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ, यसले सिँचाइ मात्र होइन, खानेपानी आपूर्तिमा पनि योगदान पुर्‍याउनेछ’, मन्त्री यादवको भनाइ थियो।

उनले ४२ हजारभन्दा बढी उपभोक्ता समितिहरूसँग सहकार्य गरेर पानीको संकट समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै सिमरा खानेपानी समितिको मागअनुसार नयाँ ट्यांकी निर्माण र डिप ट्युबवेल जडानका योजनाहरू प्राथमिकतामा रहेको जानकारी दिए।

समितिका अध्यक्ष कासिम हुसेनको सभापतित्वमा भएको कार्यक्रममा मधेस प्रदेशकी सांसद मञ्जु थापा मगरलगायतको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *