महिला लिग फुटबलमा आर्मी विजयी
काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रा भण्डारीको ‘ह्याट्रिक’मा वालिङ नगरपालिकालाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आज भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। आर्मीका लागि चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान दुई–दुई गोल गरे भने एक आत्मघाती गोल भएको थियो।
खेलको ३८औँ मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाइन्। त्यसपछि खेलको ४२औँ मिनेटमा चन्द्राले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन्। उनले गोल गरेको दुई मिनेट बित्न नपाउँदै वालिङ नगरपालिकाकी खेलाडीले आत्मघाती गोल गरिन्।
खेलको पहिलो हाफमा ३–० गोलअन्तरले अगाडि रहेको आर्मीले खेलको दोस्रो हाफमा पाँच गोल थप्यो। खेलको ५४औँ मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरिन् भने उनैले खेलको ७३औँ मिनेटमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन्। त्यसैगरी, अमिशा कार्कीले ६१औँ र ७१औँ मिनेटमा गोल गरिन्। विमलाले खेलको ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । खेलमा चन्द्रा ‘प्लेयर अफ दी म्याच’समेत घोषित भइन्।
जितसँगै आर्मीले आठ खेलबाट १९ अंक जोड्दै अंक तलिकाको दोस्रो स्थानमा रहेको छ। समान आठ खेल खेलेको वालिङ १२ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ। अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment