राष्ट्रभाषाको संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र भाषाको विकास र संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
गोरखापत्र संस्थानमा आज आयोजित कार्यक्रममा ‘रानाथारु’ भाषा पृष्ठको लोकार्पण गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भाषाको विकास र संरक्षणले सम्बन्धित भाषा बोल्नेहरुको साहित्य क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
मन्त्री गुरुङले संस्थानका प्रकाशनहरुलाई अझ गुणस्तरीय र प्रतिस्पर्धी बनाउन जोड दिँदै गोरखापत्रको डिजिटल प्रकाशनलाई प्रभावकारी बनाउन संस्थान पदाधिकारीहरुलाई निर्देशन दिए। गोरखापत्र दैनिकको अन्तर्राष्ट्रिय, विचार, राजनीतिकसहित अन्य विषयलाई समयसापेक्ष गुणस्तरीय बनाउन निर्देशन दिँदै उनले संस्थानका प्रकाशनहरुले सरकारको प्रतिनिधित्व गर्ने हुनाले समाचार सामग्री सन्तुलित, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए।
रानाथारु भाषाको प्रकाशनसँगै गोरखापत्रमा अब ४४ भाषाका सामग्री पढ्न सकिने भएको छ। दैनिकमा प्रकाशित सबै भाषाका ‘पिडिएफ कपी’ गोरखापत्र अनलाइनमा हेर्न र पढ्न सकिन्छ । गोरखापत्रमा बहुभाषिक ‘नयाँ नेपाल’ पृष्ठ २०६४ असोज १ गतेदेखि प्रकाशन सुरु भएको थियो।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ गोरखापत्रको गौरव भएको बताउँदै संस्थानका प्रकाशनले भाषा, साहित्य र समावेशीताका क्षेत्रमा उल्लेखनीय काम गरी जनतालाई सरकारसँग जोड्ने काम गरिरहेको बताए।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानले भाषा पृष्ठ प्रकाशनका लागि स्पष्ट मापदण्ड बनाएर भाषा पृष्ठहरु थप्ने काम गरिरहेको बताए। नयाँ नेपाल विभागका प्रमुख विवेकानन्द मिश्रले गोरखापत्रमा प्रकाशन हुँदै आएका भाषा पृष्ठका बारेमा जानकारी गराएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment