लुम्बिनी प्रदेश सरकारद्वारा कार्य विभाजन नियमावली हेरफेर
लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्य विभाजन नियमावली हेरफेर गरेको छ। प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसूची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो।
कार्यविभाजनअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभ्ने र युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।
प्रदेश मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीअन्तर्गत सरकारले कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरेको जनाइएको छ। बैठकले प्रदेशको राजस्व वृद्धिका लागि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने निर्णय गरेको छ।
बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्ष महशुद खाँलाई पदमुक्त गर्ने निर्णय गरेको छ। यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सरुवा भएर लुम्बिनी प्रदेशमा आउनुभएका डा रामेश्वर देवकोटालाई पाल्पा अस्पतालमा कामकाजका लागि खटाउने निर्णय गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment