नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड

डिसी नेपाल
१३ कार्तिक २०८१ १७:३७
24
Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलगायत सम्बन्धित निकायहरुसँग अनुरोध गरेका छन्।

केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित गर्नुपर्ने पक्षमा आफू रहेको बताए। उनले संसद्को आगामी अधिवेशनमा उक्त विधेयकलाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताए।

ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने बताए। मन्त्री खड्काले नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत् नभएका स्थानमा उज्यालो पु¥याउन केन्द्रले निर्वाह गरेको भूमिकाको सराहना गरे। उनले विद्युत्मा पहुँच नभएका ग्रामीण इलाकामा नवीकरणीय ऊर्जा उत्पादन गर्न केन्द्रलाई सुझाव दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी दिए।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाकालदेखि नै केन्द्रले अहोरात्र काम गरी हालसम्म ४० हजार दुई सय ५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण गरेको जानकारी दिए। केन्द्रले हालसम्म देशका ३६ लाख ५० हजार घरमा नवीकरणीय ऊर्जा सेवा प्रवाह गरेको उनले बताए।

देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा पाँच सयभन्दा बढी कम्पनी क्रियाशील रहेका छन्भने ती कम्पनीमा ४० हजारभन्दा बढीले रोजगारी पाएका छन्। वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुले रक्तदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *