नेपाल–बंगलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ: ऊर्जामन्त्री
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन्।
साउथ एसिया विजनेश पार्टनरशीपले आज यहाँ आयोजना गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले पाँच दशक लामो सम्बन्ध रहेको नेपाल र बंगलादेशबीच रहीआएको सम्बन्ध जनस्तरमा विस्तार हुनुपर्ने बताए।
ऊर्जामन्त्री खड्काले नेपाल र बंगलादेशबीच भर्खरै ऊर्जा क्षेत्रमा समेत व्यापारिक सम्बन्ध विस्तार गरेको बताए। ‘भर्खरै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेर ऊर्जा क्षेत्रमा नेपाल भारत र बङ्गलादेशबीच त्रिदेशीय सम्बन्ध विस्तार गरेका छौँ’, मन्त्री खड्काले भने। उनले नेपालको स्रोतको अत्यधिक प्रयोग गरेर बंगलादेशको ऊर्जा आवश्यकतालाई पूरा गर्न लागिएको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशका व्यवसायीलाई आग्रह समेत गरे।
बंगलादेश कृषि क्षेत्रमा आत्मनिर्भर भई विदेशमा समेत बिक्रीवितरण गर्दै आएको भन्दै मन्त्री खड्काले बंगलादेशबाट नेपालले समेत पाठ सिक्न जरुरी रहेको बताए। नेपाल र बंगलादेशबीच आवतजावतमा भिसाको समस्या रहेको भन्दै उक्त समस्या समाधानमा सरकारले काम गर्ने उल्लेख गरे।
कार्यक्रममा संसद्का अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपाल र बंगलादेशबीच धार्मिक, सांस्कृतिक, कूटनीतिक सम्बन्ध रहेको भन्दै यसलाई झन प्रगाढ बनाउनुपर्ने बताए। उनले दुई देशबीचको व्यापारिक सम्बन्धलाई झन बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे। सोही अवसरमा बंगलादेशको व्यवसाय तथा शिक्षा क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई अवार्ड प्रदान गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment