सांगीतिक छोटो फिल्म ‘कोठा’ सार्वजनिक

डिसी नेपाल
१६ मंसिर २०८१ १३:५४
76
Shares

काठमाडौं। सांगीतिक छोटो फिल्म ‘कोठा’ सार्वजनिक गरिएको छ। शनिवार काठमाडौंमा रहेको एभरेष्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी छोटो फिल्म ‘कोठा’ सार्वजनिक गरिएको हो। आर्ट घरको निर्माणमा तयार भएको उक्त सांगीतिक छोटो फिल्मलाई भीष्म जोशीले तयार गरेका हुन्।

जोशीको कथा तथा कन्सेप्टमा तयार सांगीतिक फिल्ममा काठमाडौंमा डेरा गरेर भविष्य खोजिरहेको युवा र युवाको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ।

सपना पोका बोकेर काठमाडौं छिरेको ग्रामीण ठिटो र उसका भोगाई फिल्ममा देख्न सकिन्छ। निर्देशक जोशीले सहरमा भविष्य खोजिरहँदा गाउँमै छुटेका अतीतहरू अनि सहरमा भेटिएका र देखिएका रहरहरूको संयोजनलाई फिल्ममार्फत देखाएका छन्।

पछिल्लो समयका चर्चित गायक संगीतकार प्रशान्त सिवाकोटीको आवाज तथा उनैको संगीतमा सार्वजनिक ‘कोठा’मा आधुनिक र लोक दुवै लय सुन्न सकिन्छ। संगीतकार सिवाकोटीले गीतमा देउडा भाकालाई पनि स्थान दिएका छन्।

उनी आफैले गीत सार्वजनिक कार्यक्रममा भने, ‘आफू झापाली भएर पनि सुदूरपश्चिमको देउडा भाका कोठा मार्फत गाउने प्रयास गरेको छु, विश्वास छ सबैले हाम्रो नयाँ साङ्गीतिक कोसेलीलाई माया गरिदिनुहुनेछ।’

सांगीतिक फिल्म सार्वजनिक कार्यक्रममा निर्देशक जोशीले गीतलाई गाउँबाट सहर आए पछिका आफ्नै भोगाइ र अनुभूतिहरूलाई सँगालेर ‘कोठा’ तयार गरेको बताए। उनले धेरै नेपाली दर्शक तथा श्रोताहरूलाई सांगीतिक फिल्मले छुनेमा पनि आफू विश्वस्त रहेको बताए।

नव-कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको यस सांगीतिक फिल्ममा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डेको अभिनय रहेको छ। यसै गरी सन्तोष बिस्ट, सृष्टि एैर, सागर भुसाल र अनिल दाहालको पनि अभिनय रहेको छ।

सरोज श्रेष्ठको छायांकन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको यस सांगीतिक फिल्ममा निर्देशक जोशी र कवि देव व्रतको शब्द सुन्न सकिन्छ।
निर्देशक जोशीले यसअघि आर्ट घरबाटै ‘समय र उमेर’ सार्वजनिक गरेका थिए भने उनी नेपाली चलचित्र तथा रङ्गमञ्चका सक्रिय र उम्दा कलाकारसमेत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *