एनपिएल क्रिकेटः जनकपुरको लगातार तेस्रो जित
काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपिएल) को आठौं खेलमा जनकपुर बोल्टसले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ। आज भएको खेलमा जनकपुरले पोखरालाई ७ विकेटले हराएको हो।
पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन बनाए। ३२ बल खेलेका उनले ८ चौका प्रहार गरे। यस्तै ओपनर आसिफ शेखले ३३ रन बनाए। जिमी निशमले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। उनले २० बलमा ४ चौका र एक छक्काको मद्दतमा ४० रन बनाए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो। पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाए। उनले ३० बलमा ३ चौका र एक छक्का प्रहार गरे। यस्तै एन्द्रिस गौसले २०, रेमन रेइफरले १७, अनिल खरेलले १०, दिलिप नाथले ११ रन बनाउँदा कप्तान कुशल भुर्तेल ६ रन बनाएर आउट भए। माइकल लिस्कले १३ बलमा ३ छक्काको मद्दतमा २५ रन बनाए।
जनकपुरका ललित राजवंशीले ३ विकेट लिए भने जिमी निशमले २ तथा मोहम्मद मोहसिन किशोर महतोले समान एक/एक विकेट लिए।
योसँगै जनकपुरले लगातार तेस्रो जित हासिल गरेको छ। जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो। पोखराको भने यो लगातार दोस्रो हार हो। पोखरा एभेन्जर्स पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment