प्रहरीद्वारा गाँजा र अफिम फँडानी
बागमती। प्रतिबन्धित लागुऔषध गाँजा र अफिम खेती नष्ट गर्ने अभियान सुरु गरेको छ। मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा करिब ८० बिघा क्षेत्रफलमा लगाइएको गाँजा र अफिम फँडानी गरेको हो।
यही मङ्सिर ७ गतेदेखि आजसम्ममा जिल्लाको कैलाश, राक्सिराङ र बागमती गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीयले ७५ बिघा सात कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा र १२ बिघा तीन कठ्ठा क्षेत्रफलमा लगाएको अफिम खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाँजा र अफिम खेती फँडानी गरेको हो।
फँडानी गर्न बाँकी रहेका अन्य स्थानमा पनि क्रमशः प्रहरी टोली परिचालन गरी अभियानलाई निरन्तरता दिइने प्रहरी निरीक्षक सापकोटाले बताए। मकवानपुरको पहाडी क्षेत्रका पालिकामा गाँजा र अफिम खेती हुँदै आएको छ। यस्तै मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–५ स्थित डिल्लीपुरबाट आज एक क्विन्टल ३७ किलो गाँजा बरामद गरेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment