साउन २९ मा आउँदै ‘लज्जावती’: दुई करोडको लगानी, दर्शकको हातमा फिल्मको भविष्य
काठमाडौं। यही साउन २९ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’ प्रेमकथामा आधारित पारिवारिक कथावस्तुमा बनेको छ।
निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको यस चलचित्रमा प्रेमसँगै पारिवारिक सम्बन्ध, सङ्घर्ष, त्याग, आत्मीयता र नेपाली समाजका विविध पक्षलाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा अभिनेता श्रीकृष्ण निरौला, मुकुन भुसाल, अभिनेत्री मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रबारे नेपाल न्यूज बैंकसँग कुरा गर्दै निर्माता कमलप्रसाद शर्माले ‘लज्जावती’मा गरिएको करिब दुई करोड रुपैयाँको लगानी सुरक्षित हुने वा नहुने विषय अब दर्शकको निर्णयमा निर्भर रहने बताएका छन्। निर्माण टिमको तर्फबाट कथा, प्रस्तुति, गीत, ट्रेलर र प्रचारप्रसारमा सम्पूर्ण मेहनत भइसकेको निर्माता शर्माको भनाइ छ।
चलचित्रका गीत र ट्रेलरले पाएको प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित बनाएको छ। तर अन्ततः फिल्मको व्यावसायिक सफलताका लागि दर्शक हलसम्म पुग्नुपर्ने हुन्छ। “दर्शक हलसम्म पुगेमा लगानी स्वतः उठ्छ, त्यसैले अहिले सबैभन्दा धेरै दर्शकको साथ र सहयोगको आवश्यकता छ,” निर्माता शर्माले भने।
‘लज्जावती’ साउन २९ गते नेपालका विभिन्न हलमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षले चलचित्र नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली दर्शकसम्म पनि पुर्याउने तयारी भइरहेको जनाएको छ।
निर्माता शर्माले सम्पूर्ण दर्शकलाई साउन २९ गते हलसम्म पुगेर चलचित्र हेरिदिन आग्रह गरेका छन्। देश-विदेशमा रहेका दर्शकको साथ, सहयोग र मायाको अहिले निकै खाँचो रहेको निर्माता शर्माको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment