देवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा

डिसी नेपाल
१३ पुष २०८१ २०:१२
20
Shares

तनहुँ। जिल्लाको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको छ। गाउँपालिकाले अल्पसङ्ख्यक तथा विपन्न समुदायलाई स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो।

पाँचवटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए। गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमाका लागि चालु आर्थिक वर्षमा रु ११ लाख बजेट विनियोजन गरेको छ।

पहिलो चरणमा केही परिवारको स्वास्थ्य बिमा गरिएपछि अध्यक्ष थापाले सम्बन्धित परिवारलाई स्वास्थ्य बिमा परिचयपत्र हस्तान्तरण गरेका छन्। उनले भने, ‘यो कार्यक्रमबाट करिब तीन सय १५ परिवार लाभान्वित हुनेछन्। स्वास्थ्य बिमाका लागि आवश्यक रकम गाउँपालिकाले तिरिदिनेछ।’

अध्यक्ष थापाका अनुसार ती समुदायका नागरिकका साथै आर्थिक अवस्था कमजोर भएका अन्य स्थानीयको पनि निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति पालिकाले लिएको छ। आर्थिक अभावमा पछाडि पारिएका समुदाय न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर चालु आवदेखि स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएका उनले बताए।

अध्यक्ष थापाले सीमान्तकृत र लोपोन्मुख समुदायका नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारीलगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने पालिकाको नीति रहेको उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *