आजदेखि मौसममा सुधार, चिसो कम हुँदै जाने

डिसी नेपाल
१४ पुष २०८१ ६:१९
168
Shares

काठमाडौं। देशभर केही दिनदेखि बढेको चिसो आजदेखि विस्तारै कम हुँदै जाने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि मौसममा सुधार आउने र चिसो कम हुने पूर्वानुमान गरिएको हो।

हुम्ला सहित कर्णालीका उच्च हिमाली जिल्लामा भने शुक्रबार रातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।

आजदेखि विस्तारै मौसममा सुधार आएसँगै चिसो पनि कम हुँदै जाने देखिएको छ। यसबाट दैनिक जनजीवन, स्वास्थ्य र यातायातका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। चिसो घटेसँगै जनजीवन पनि सहज हुनेछ।

तराई र पहाडी क्षेत्रमा अहिले देखिएको बाक्लो हुस्सु र कुइरो कम भई सडक यातायात र हवाई सेवा सञ्चालनमा सुधार आउनेछ।

हिउँदे बाली लगाउन ढिलो भइरहेको बेला मौसम सुधारले कृषकलाई समयमै काम अघि बढाउन सहयोग गर्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार रातिसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी, मधेश र बाग्मती प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। तर आइतबारदेखि भने मौसम सफा भइ जाडो कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस वर्ष पटक पटक हिमाली जिल्लामा परेको हिउँले भने बाली उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ। हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो।

तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको छ। यतिबेला परेको हिउँले बाली उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ। सिँचाइ नभएको ठाउँमा समयमै हिउँ परेपछि जमिन चिसो भइरहने र अन्नबाली राम्रो हुने स्थानीय कृषकले बताएका हुन्।

देशभरका हिमाली क्षेत्रमा अहिले हिउँ परिरहेको छ। पहाडी र तराइ क्षेत्रमा पनि हुस्सु र कुइरोले जनजीवन कष्टकर बनिरहेको छ। मध्य पुसको चिसो सिरेटोले मुटु कमाउने जाडो भएपछि गहुँ र अन्य हिउँदे बाली लगाउन समय घर्कंदै गएको किसानहरू बताउँछन्। अहिले किसानलाई सबैभन्दा बढी धपेडी उखु भएको खेत खाली गरेर बाली लगाउनुपर्ने काममा छ।

भनेको बेला उखु कटानको चलान चिनी मिलले दिँदैनन्, खेत खाली गरेर खनजोत गरी समयभित्र बाली नलगाए छ महिना खेत बाँझै बस्छ । ढिलोमा पुसको तेस्रो साताभित्र गहुँ छरी सक्नुपर्ने हुँदा यसको चटारोले छोपेको किसानको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *