चिसो बढेपछि विद्यालय बन्द

डिसी नेपाल
२३ पुष २०८१ २१:५५
204
Shares

चन्द्रपुर (रौतहट)। केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका कारण तराई मधेसका अन्य जिल्लासहित रौतहटका नागरिकको जनजीवन प्रभावित बनेको छ। केही दिनयता घाम नलागेका कारण थप समस्या भएको। जाडोले खासगरी विपन्न तथा गरिब परिवार प्रभावित भएका छन्।

चिसो र शीतलहरले रौतहटको व्यापारिक केन्द्र चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया, समनपुरमा दिउँसो पनि चहलपहल देखिँदैन। चिसोले नागरिक प्रभावित बन्न थालेपछि जिल्ला विपत् व्यवस्थापन समितिले आगो बाल्नका लागि टोलटोलमा दाउरा वितरण गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले डिभिजन वन कार्यालय रौतहट र स्थानीय पालिकासँगको समन्वयमा टोलटोलमा दाउरा वितरण गर्ने निर्णय भएको जानकारी दिए। यस्तै, चिसोबाट जोगाउनका लागि न्यानो कपडा वितरणमा सहयोग गर्न विभिन्न गैरसरकारी तथा सरकारी संस्थालाई आग्रह गरिएको उनले बताए।

सशस्त्र प्रहरी फतुवा बेस क्यापले पनि आज आफ्नो क्षेत्रअन्तर्गत विभिन्न चोकमा दाउरा बाल्न सुरु गरेको छ। सशस्त्र प्रहरीले राजपुर, फतुवा महेशपुरलगायत चोकमा दाउरा बाल्ने व्यवस्था गरेको छ।

यसैबीच गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै तीन दिन गौर नगर क्षेत्रका विद्यालय बन्द गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *