लघुकथा : खाल्डो
मनुहाङलाई मर्न मन लाग्यो। उसले बाँच्नुको कुनै अर्थ देखेन। जुनेली रात थियो। मनुहाङले आफै घरमुनि ठूलो खाल्डो खन्यो र खाल्डोभित्र पस्यो।
खाल्डोमा पल्टिएर आकाशका ताराहरू नियाल्दै त्यो आफैले रोजेको खाल्डो भएकोमा आफूलाई निकै भाग्यमानी ठान्यो। मृत्यु बोलाउने मन्त्रहरू उसले तान्त्रिकहरूसँग सिकेको थियो। उसले आँखा बन्द गरेर मृत्युलाई पुकार्दै गयो। रात बित्दै गयो।
उज्यालो भयो मनुहाङको मृत्यु उसलाई लिन आएन। बरु उसले भिजेको माटोको बास्ना र बिहानीको चिसो अनुभूत गर्याे। वरपर चराहरूको चिर्बिर चिर्बिर सुन्यो। फेरि बाँच्ने रहर जागृत भएर आयो। पेटले भोक लागेको संकेत दियो।
भोकाएको मनुहाङ बिहान बिहानै रक्सी खाने सोचले सदरमुकाम दिक्तेल बजारतर्फ हानियो। उसले मनमनै सितनमा राँगाको सुकुटी खाने कि साँधेको भटमास खाने निर्णय गर्न सकिरहेको थिएन।
एका बिहानै बजार राम्ररी खुलिसकेको थिएन। मूढेतिरबाट एउटा ट्रीपर बत्तिँदै आयो र बाटोमा हिँडिरहेको मनुहाङलाई ठक्कर दियो। ऊ उछिट्टिएर फोहरमैला पुर्न खनिएको खाल्डोमा खस्यो। केही सेकेन्डमै उसको प्राण पखेरु उड्यो। उसको मृत शरीर खाल्डोमा लडिरह्यो। यद्यपि त्यो पनि उसको भागको खाल्डो थिएन।
अन्ततः आफन्तजनहरूले नङ्ग्रे खोलाको छेउमा बाँसघारी नजिकै मनुहाङको निम्ति खाल्डो खने र उसको सुन्दर समाधी बनाइदिए। यस्तो लाग्यो मानौँ उक्त खाल्डोले मनुहाङलाई स्वीकारेर घप्लक्कै अंगालो मार्यो र उसको कानमा मानौँ फुस्फुसायो-
‘मन्नु ! ए मन्नु! तेरो तोकिएको खाल्डो म हुँ। जसरी जन्मनलाई कोख छान्न पाइँन्न। पुरिनलाई खाल्डो पनि रोज्न पाइन्न। तिमीलाई तिम्रो खाल्डोमा स्वागत छ’
No ads found for this position


Facebook Comment