रक्तचन्दनको तेलसहित ३ जना पक्राउ

डिसी नेपाल
४ भदौ २०७६ ८:१९

काठमाडौँ । नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको जानकारी दिए । “पक्राउ परेकाले नयाँबजारको सोसल खेलमैदानमा रक्तचन्दनको कारोवार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ”, उनले भने ।

रक्तचन्दनको तेल लामाको कोठाबाट बरामद गरे पनि उक्त कारोवारमा केसी र पौडेलसमेत संलग्न रहेको राठौरले बताए । रक्तचन्दन साइटिस महासन्धिमा सूचीकृत वनस्पति हो । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को पक्ष राष्ट्र नेपाल भएकाले रक्तचन्दन नेपालमा ओसारपसार गर्नेलाई कानूनी कारवाहीको व्यवस्था गरिएको छ। पक्राउ परेका तीनै जनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *