एआइजीको दरवन्दी थप नगरिँदा सशस्त्र प्रहरीमा डिआइजी बढुवाको जाम

डिसी नेपाल
६ माघ २०८१ ८:२३
652
Shares

काठमाडौं। सशस्त्र प्रहरीमा एआइजीको दरवन्दी थप नगरिँदा एक डिआइजीको १८ दिनपछि अनिवार्य अवकाशमा जाँदै छन्।

यही माघको २४ गते डिआइजीको पाँच वर्षे कार्यकाल पूरा डिआइजी किशोर प्रधान घर जान लागेका हुन्। अहिले सशस्त्र प्रहरीमा तीन एआइजीको दरवन्दी रहेको छ। सशस्त्र प्रहरीमा तीन एआइजीसहित चार विशिष्ट श्रेणीको पद रहेको छ।

डिआइजी प्रधानको कार्यकाल सकिने भएपछि सशस्त्र प्रहरीमा डिआइजी बढुवाको जाम भएको छ। केही दिन अघि सशस्त्र प्रहरीले तल्लो तहका प्रहरी अधिकारीहरुको बढुवा खुलाएको भएपछि डिआइजीको बढुवा भने पाँच महिनादेखि हुन सकेको छैन।

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त डीआईजीको बढुवा पाँच महिनादेखि रोकिराखेको छ। हाल दुईजनाको दरबन्दी रिक्त रहेकामा अझै एकजना डीआईजीको अवकाशपछि मात्रै एकसाथ तीनजना डीआईजीको बढुवा प्रक्रिया अगाडि बढाइने भएकोछ। खासगरी एसएसपी दीपेन्द्र कुँवरलाई पनि बढुवा गर्नेगरी गृहमन्त्रालयले बढुवा रोकेर राखेको स्रोतको दावी छ।

‘यही महिना डीआईजी प्रधान अनिवार्य अवकाश हुने भएपछि रोकिएको हो’, स्रोतले भन्यो। उनको अवकाशपछि मात्रै डीआईजीमा बढुवा गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । बढुवा समितिको सिफारिसमा गृहमन्त्रीले डीआईजी बढुवाको निर्णय गर्ने व्यवस्था छ।

माघ २४ गतेदेखि ९ नं पशुपतिनाथ बाहिनीका बाहिनीपति प्रधान अनिवार्य अवकाश हुनेछन्। उनी डीआईजीमा थपिएको एक वर्षे पदावधि पनि पूरा गरेर अवकाश हुन लागेका हुन्। गत वर्ष माघ २३ मै चार वर्षे पदावधि पूरा भए पनि प्रधानको एक वर्ष पदावधि थप गरिएको थियो।

माघ २३ गतेसम्ममा अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुने सम्भावना नभएकाले उनी अवकाश हुन लागेका हुन्। उनको अवकाशपछि मात्रै तीनजना डीआईजीको बढुवा हुनेछ। गत भदौ १६ गतेदेखि नै सशस्त्र प्रहरीमा दुईजना डीआईजीको दरबन्दी रिक्त भएको थियो।

तर रिक्त भएको झण्डै ५ महिनासम्म बढुवा नगरी राखिएको छ। डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएका थिए।

डीआईजी र एआईजीको दरबन्दी थप गर्ने प्रयास भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि रोकिएको थियो। सशस्त्र प्रहरीमा एकजना डीआईजी र एकजना एआईजी थपका लागि प्रस्ताव गरिएको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एकसाथ दरबन्दी थपको प्रस्ताव भए पनि अर्थ मन्त्रालयले दुवै प्रहरीमा तत्काल दरबन्दी थप गर्न स्वीकृति दिएन। दरबन्दी थप गर्ने प्रयास असफल भएपछि नेपाल प्रहरीमा भने धमाधम बढुवा गरिएको छ।

रिक्त हुने तीन पदमा सशस्त्र प्रहरीमा भर्ना भएको पहिलो ब्याचबाट दुईजना र दोस्रो ब्याचबाट एकजनालाई बढुवा गर्ने तयारी छ। प्रतिस्पर्धामा भने अरु एसएसपी पनि देखिएका छन्। नेपाल प्रहरीको प्राविधिकबाट आएका कृष्णराज पाठक सबैभन्दा सिनियर एसएसपी हुन्।

तर उनलाई यसपटक पनि बढुवा गर्ने सम्भावना कम छ। यसअघि पनि बढुवामा छुट्दै आएका पाठक सशस्त्र प्रहरीको पहिलो ब्याच (सिसं १) भन्दा अगाडिका एसएसपी हुन् । सिसं १ का मनिष थापा र कृष्ण ढकाल डीआईजीमा बढुवा हुनेछन्।

उनीहरूकै ब्याची पाँचजना डीआईजीमा बढुवा भइसकेका छन्। डीआईजी सुरेश श्रेष्ठ, अन्जनी पोख्रेल, दिपेन्द्र शाह, पुरुषोत्तम थापा र दिपक अधिकारी उनीहरूकै ब्याची हुन्। एसएसपी थापा र ढकालले पनि स्टाफ कलेज गरिसकेका छन्।

सशस्त्रमै भर्ना भएको टोलीका लागि डीआईजी बन्न स्टाफ कलेज अनिवार्य छ। यसअघि तीनपटकमा स्टाफ कलेज पास गरिसकेको हुनु पर्ने व्यवस्था थियो। तर एसएसपी ढकालले तीनपटकमा पनि स्टाफ कलेज पास नगरेपछि उनकै लागि व्यवस्था नै परिवर्तन गरेर ५ पटकसम्म स्टाफ कलेज दिन पाउने व्यवस्था मिलाइएको थियो।

सिसं १ पछि एसएसपी प्रवीण कँडेल पनि डीआईजीका दाबेदार हुन्। नेपाल प्रहरीबाट आएका कँडेल पनि यसपटक डीआईजीमा बढुवा हुने सम्भावना भने कम छ। सिसं २ बाट पहिलो नम्बरमा एसएसपीमा बढुवा भएका दिपेन्द्र कुँवर डीआईजी बन्ने सम्भावना बलियो देखिएको हो।

कुँवरलाई डीआईजी बनाउनकै लागि सशस्त्र प्रहरीमा लामो समयदेखि डीआईजी बढुवा नगरी राखिएको हो। सिसं २ कै विष्णु भट्ट, दिग्विजय सुवेदी लगायत पनि डीआईजीका प्रतिस्पर्धी हुन्। तर कुँवरका अगाडी उनीहरुको प्रतिस्पर्धा कमजोर देखिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *