डलर खाएर रवि लामिछानेको समर्थनमा आन्दोलन गरिएको सांसदको आरोप

डिसी नेपाल
४ भदौ २०७६ १२:५७

काठमाडौं। आत्महत्या दुरुत्साहन अभियोगमा रवि लामिछानेसहित तीन जनामाथि अनुसन्धान चलिरहेको छ । यो अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएकोमा समर्थकहरुले विरोध गर्दै आइरहेका छन् । यो विषयले संसदमा समेत प्रवेश पाइसकेको छ । बुधबारको राष्ट्रिय सभा बैठकमा एक सांसदले रवि लामिछानेको पक्षमा भइरहेको आन्दोलन डलर खाएर भइरहेको आरोप लगाए ।

बैठकको विशेष समयमा बोल्दै सांसद खेमकुमार विकले सरकाले कानुन कार्यान्वयन गर्दा त्यसको नाममा कम्युनिष्टको विरोध गर्दै वर्तमान प्रधानमन्त्रीको पुत्ला दहनसम्म भएको बताए । विकले भने, ‘रविको पक्षमा भइरहेको यो आन्दोलनका पछाडि कुन शक्ति छ ? यो आन्दोलन डलर खाएर भइरहेको छ । सरकारको ध्यान यसमा जानुपर्छ, यसको छानबिन हुनुपर्छ ।’ उनले रविको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको दाबी गरे ।

‘रवि लामिछानेसँग सम्बन्धित जुलुस, धर्ना देशका केही ठाउँमा भइरहेको छ। जसमार्फत् हिंसा भड्काउने कोशिश हुँदैछ’, उनले भने, ‘हिजै पनि काठमाडौँको माइतीघरबाट निस्केको जुलुसमा शंकास्पद पदार्थ भरिएका वियरका बोत्तल बोकेर हिँडेको देखेँ। त्यसपछि मैले तत्कालै प्रहरीका कमाण्डरलाई खबर गरेँ। त्यसपछि सम्भावित हिंसात्मक घटना टर्यो।’ राज्यले कानुनको सहायताले सबै नागरिकलाई छानबिन गर्न पाउने तर्क उनले गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *